तराई–मधेश क्षेत्रमा विकसित पछिल्लो सुरक्षा चुनौती तथा बढ्दो तनावलाई मध्यनजर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले एआईजीदेखि एसएसपीसम्मका १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न जिल्लामा फिल्ड परिचालन गरेको छ ।
साउन १० गते राति सुनसरीको कप्तानगञ्जमा भएको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएपछि मोरङ, सुनसरी, सिरहा र धनुषालगायतका जिल्लामा आगजनी, तोडफोड तथा झडपका घटनाहरू बढेका छन् । पछिल्लो घटनाक्रममा तीन जनाको मृत्यु भइसकेको छ भने प्रभावित क्षेत्रमा कर्फ्यु जारी गरिएको छ । अवस्था नियन्त्रणमा लिन नेपाली सेनासमेत परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेका अनुसार मधेश क्षेत्रमा संवेदनशील बनेको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रहरी जनशक्ति तथा स्रोत–साधनको प्रभावकारी परिचालन, नीति–निर्देशन, सूचना संकलन, सुरक्षा कार्ययोजना कार्यान्वयन तथा प्रत्यक्ष फिल्ड समन्वयका लागि उच्च प्रहरी अधिकृतहरूलाई खटाइएको हो ।
उहाँका अनुसार परिचालित अधिकारीहरूले सम्बन्धित प्रदेश तथा जिल्ला प्रहरी कार्यालयसँग प्रत्यक्ष समन्वय गरी शान्ति–सुरक्षा व्यवस्था सुदृढ बनाउन, सुरक्षा गतिविधिको अनुगमन गर्न तथा आवश्यक निर्देशन प्रदान गर्नेछन् । प्रहरी प्रधान कार्यालयका अनुसार बारा जिल्लाको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीलाई खटाइएको छ । त्यसैगरी, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धीविक्रम शाहलाई बाँके, एआईजी हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, एआईजी उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु तथा एआईजी ईश्वर कार्कीलाई कोशी प्रदेशसहित सुनसरीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, डीआईजी दिनेशकुमार आचार्यलाई सिरहा र डीआईजी अबि नारायण काफ्लेलाई सप्तरीमा खटाइएको छ । अन्य जिल्लाहरूमा एसएसपी गोपालचन्द्र भट्टराईलाई सर्लाही, एसएसपी सोमेन्द्र सिंह राठौरलाई पर्सा, एसएसपी दीप शम्शेर जबरालाई रौतहट, एसएसपी नवराज अधिकारीलाई चितवन, एसएसपी कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, एसएसपी ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, एसएसपी भुवनेश्वर तिवारीलाई धनुषा तथा एसएसपी अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशमा परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले संवेदनशील जिल्लामा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन उच्च प्रहरी अधिकृतहरूको प्रत्यक्ष परिचालन गरिएको जनाएको छ ।