काठमाडौं । मधेस आन्दोलनले नेपालको राजनीतिक संरचनामा ऐतिहासिक परिवर्तन ल्याए पनि त्यसको प्रत्यक्ष अनुभूति आमजनताले अझै गर्न नसकेको भन्दै मधेसका युवाहरूले चिन्ता व्यक्त गरेका छन् ।
शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा आइतबार सम्पन्न ‘मधेस : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरूले मधेस तथा थरुहट आन्दोलनका मूल उद्देश्यहरू अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताएका हुन् ।
कार्यक्रममा सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा मधेसी समुदायका अधिकार सुनिश्चित गर्ने विषयमा नीतिगत प्रगति भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण पछिल्लो समय विभिन्न प्रकारका असन्तुष्टि र द्वन्द्व देखिएको धारणा व्यक्त गरिएको थियो ।
प्रतिष्ठानकी अध्यक्ष ममता चौधरीका अनुसार कार्यक्रममा मधेसमा देखिएको राजनीतिक विभाजन, नेतृत्व सङ्कट, सामाजिक ध्रुवीकरण तथा युवापुस्तामा बढ्दो निराशाबारे समेत गम्भीर छलफल भएको थियो।
वक्ताहरूले मधेसको समग्र विकासका लागि गुणस्तरीय शिक्षा, रोजगारीको सिर्जना, सुशासन, आर्थिक सशक्तीकरण, सामाजिक सद्भाव तथा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका थिए ।
शहीदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै अध्यक्ष चौधरीले न्याय, समानता र अधिकार सुनिश्चित गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताइन्। उनले भावी पुस्ताले पनि शहीदहरूको योगदानलाई सम्मान गर्दै न्यायपूर्ण समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा सहभागी युवाहरूले मधेसको उज्ज्वल भविष्यका लागि साझा दृष्टिकोण, स्पष्ट नीति, सक्षम नेतृत्व र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको निष्कर्षसमेत व्यक्त गरेका थिए ।