सप्तरी – मिटरब्याज ठगीको आरोपमा रामदेव साहु तेलीका छोरा नन्दकिशोर साहु तेली र उनकी श्रीमती शिवकुमारी देवी सप्तरी प्रहरीको हिरासतमा छन्। सोमबार सप्तरी जिल्ला अदालतमा हाजिर भए पनि साँझसम्म बहस सुरु नभएको कारण उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको अदालतका स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन्।
सप्तरी जिल्ला अदालतले रामदेव साहु तेली र परिवारका अन्य छ सदस्यविरुद्ध मनी लाउन्डरिङ मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ। अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन अन्तर्गत रामदेवसहित उनकी श्रीमती, छोराहरू, छोरी, नाति चन्दनकुमार साह र कैलाश साहविरुद्ध कारबाहीका लागि पुर्जी जारी गरेको हो।
सप्तरीका १७ जनाले ठगी तथा आपराधिक विश्वासघातको उजुरी दिँदै रामदेव र उनको परिवारले ऋणको नाममा असुली गरिरहेको र निमुखा जनताको जग्गासमेत कब्जा गरेको आरोप लगाएका छन्। अदालतले यस प्रकरणमा १३ करोड ५५ लाख बिगो र सो रकमको दोब्बर जरिवानासहित कैद सजायको माग दावी गरिएको जनाएको छ।