सडकको क्षमताभन्दा बढी भार बोक्ने मालवाहक सवारीका कारण प्रमुख सडक संरचनामा अर्बौ रुपियाँ बराबरको क्षति पुगेको छ ।
भार नियन्त्रण प्रणाली प्रभावकारी बन्न नसक्दा राष्ट्रिय राजमार्गदेखि स्थानीय सडकसम्म तीव्र रूपमा जीर्ण बन्दै गएको जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका अनुसार बीपी राजमार्ग, महेन्द्र राजमार्ग, बर्दिबास–जलेश्वर सडक, समसी–गौशाला तथा जनकपुर–भिट्ठामोड सडकमा ओभरलोड मालवाहक सवारीको चाप बढ्दै गएपछि भार नियन्त्रण अभियानलाई तीव्र बनाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका निरीक्षक बाबुराम कार्कीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेका ३१ वटा मालवाहक सवारीमाथि कारबाही गरिएको छ। ती सवारीबाट सात लाख ९७ हजार ५५४ रुपियाँ जरिवाना असुल गरिएको उहाँले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीका अनुसार कारबाहीमा परेका कतिपय भारतीय मालवाहक ट्रकले ६० टनसम्म भार बोकेको पाइएको छ । सडक डिभिजन कार्यालय जनकपुरका डिभिजनल इन्जिनियर दरोगाप्रसादका अनुसार मधेशका अधिकांश प्रमुख सडकको भारवहन क्षमता १०.२ मेट्रिक टन मात्रै छ । तर ती सडकमा गुड्ने मालवाहक सवारीले ५० देखि ६० टनसम्म सामान बोक्ने गरेको पाइएको छ ।
उहाँका अनुसार तौलका आधारमा ढुवानी भाडा निर्धारण हुने भएकाले बढी आम्दानीको लोभमा चालक तथा व्यवसायीले सडकको भार क्षमतालाई बेवास्ता गर्दै अत्यधिक सामान लोड गर्ने गरेका छन्। यसको प्रत्यक्ष असर सडक, पुल तथा कल्भर्टमा परेको छ। अर्बौँ रुपियाँ खर्चेर निर्माण गरिएका पूर्वाधार समयअगावै क्षतिग्रस्त भइरहेका छन्।
ट्राफिक प्रहरीले ओभरलोड सवारीमाथिको कारबाहीलाई तीव्र बनाए पनि सीमा क्षेत्रमा रहेका भन्सारलगायत सम्बन्धित निकायबिच प्रभावकारी समन्वय हुन नसकेको देखिएको छ । बीपी राजमार्गमा खटिएका ट्राफिक प्रहरीका अनुसार कतिपय चालकले भन्सार रसिद र प्रज्ञापनपत्र देखाउँदै ट्राफिकले रोक्न नमिल्ने दाबी गर्दै विवाद गर्ने गरेका छन्।
यातायात व्यवस्था विभागले जारी गरेको ‘मालवाहक सवारीको भारवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४’ अनुसार तोकिएको तौलभन्दा २.५ प्रतिशतसम्म बढी भार भएका सवारीलाई सम्झाइबुझाइ गरी पठाइने र सोभन्दा बढी भार बोकेका सवारीलाई यातायात व्यवस्था कार्यालयमार्फत कारबाही गरिने व्यवस्था छ।
बर्दिबास ट्राफिकका अनुसार सबैभन्दा बढी ओभरलोड बोक्नेमा भारतीय मालवाहक ट्रक रहेका छन् । त्यसपछि इँटा र काठ ढुवानी गर्ने सवारीको सङ्ख्या बढी रहेको ट्राफिक निरीक्षक कार्कीले बताउनुभयो।
ओभरलोड सवारीका कारण सडकमा खाल्डाखुल्डी बढ्दै गएको, दुर्घटनाको जोखिम उच्च भएको, ठुला सवारी बिच सडकमै बिग्रिँदा घण्टौँसम्म ट्राफिक जाम हुने तथा हिलो र धुलोका कारण स्थानीय बासिन्दा र यात्रुले दैनिक सास्ती खेप्नुपरेको गुनासो बढ्दै गएको छ।
सडक डिभिजन कार्यालय र ट्राफिक प्रहरीले सडकको दीर्घकालीन संरक्षणका लागि मर्मतसम्भार मात्र पर्याप्त नहुने बताएका छन् । उनीहरूका अनुसार सीमानाकादेखि नै ओभरलोड सवारीमाथि कडाइ, सम्बन्धित निकायबिच प्रभावकारी समन्वय र ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन भए मात्र समस्या समाधान हुन सक्छ।