धनुषा, महोत्तरी र सर्लाही जोड्ने महेन्द्र राजमार्ग विस्तार आयोजनाको काम अपेक्षाअनुसार अघि नबढेको भन्दै प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले गम्भीर चासो व्यक्त गरेको छ ।
समितिका सभापति तथा सांसद आशिष गजुरेलले निर्माणाधीन सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्धारित समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायी, परामर्शदाता तथा आयोजना पक्षलाई निर्देशन दिएका हुन् ।
विश्व बैंकको ऋण सहयोगमा धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको ७४.७५ किलोमिटर सडक तीन वर्षभित्र एसियाली मापदण्डअनुसार चार लेनमा स्तरोन्नति गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ । तर आयोजना सुरु भएको डेढ वर्ष बितिसक्दा पनि करिब २६ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यो अवधिसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने थियो ।
सभापति गजुरेलले महेन्द्र राजमार्ग विस्तार वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै कुनै पनि बहाना नबनाई निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्देशन दिए । समयमै आयोजना पूरा नहुँदा सर्वसाधारणले यात्रा गर्दा अनावश्यक सास्ती खेप्नुपरेको भन्दै उनले निर्माण पक्षको गम्भीर ध्यानाकर्षण गराए ।
कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) का आयोजना प्रमुख राजेशकुमार दासका अनुसार अब बाँकी डेढ वर्षभित्र करिब ७५ प्रतिशत काम सम्पन्न गर्नुपर्ने चुनौती रहेको छ । उनका अनुसार बस्ती तथा बजार क्षेत्रमा करिब ११.५ किलोमिटर सडकलाई सर्भिस लेनसहित छ लेन र बाँकी सडकलाई चार लेनमा विस्तार गरिनेछ ।
आयोजनाअन्तर्गत ५० वटा पुल, १०२ वटा कल्भर्ट र पाँच वटा ओभरपास निर्माण गर्नुपर्नेछ। हालसम्म ६५ वटा कल्भर्ट र २८ वटा पुलको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ । आयोजना प्रमुख दासले प्रतिनिधिसभा निर्वाचन, निर्माण सामग्रीका लागि माटोको अभाव, विद्युत्का पोल समयमै नसारिनु, साइड क्लियरमा ढिलाइ तथा रुख कटान प्रक्रियामा भएको ढिलाइका कारण निर्माण कार्य प्रभावित भएको बताए ।
परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर विनोदकुमार गौतमले निर्माण सामग्री सहज रूपमा उपलब्ध भए बाँकी डेढ वर्षभित्र आयोजना सम्पन्न गर्न सकिने दाबी गरे । उनले सरकारसँग साइड क्लियर गर्ने कार्यमा थप सहजीकरण गरिदिन आग्रह पनि गरे । त्यसैगरी, निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन कम्पनी–आरसीसी ज्वाइन्ट भेन्चरका प्रतिनिधि निरञ्जन पुडासैनीले आयोजनाको अधिकांश भाग जंगल क्षेत्रमा पर्ने भएकाले रुख कटान ढिलो हुँदा कामको गति प्रभावित भएको बताए ।
यता, कमला–ढल्केबर–पथलैया सडक आयोजनाको पश्चिम खण्डअन्तर्गत बागमती पुलदेखि पथलैयासम्मको करिब ५५ किलोमिटर सडक खण्डको ठेक्का प्रक्रिया भने अझै सम्पन्न हुन बाँकी रहेको छ।