उद्योगी–व्यवसायीको छाता संस्था सप्तरी उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएसँगै जिल्लाका व्यवसायीमा चुनावी माहोल तातेको छ ।
सङ्घको १२औँ साधारणसभा आगामी असोज ३ गते बोदेबरसाइन नगरपालिकामा आयोजना गर्ने निर्णय भएको छ । साधारणसभापछि हुने निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिने भएकाले उद्योगी–व्यवसायीबीच नेतृत्वको चर्चा र तयारी बढेको हो ।
सङ्घका अध्यक्ष लालुप्रसाद अग्रवालका अनुसार निर्वाचन तयारीका लागि समिति गठन भइसकेको छ । साधारणसभाकै क्रममा निर्वाचनको मिति घोषणा गरिने उनले जानकारी दिए । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष अग्रवालले भदौ १५ गतेभित्र सदस्यता नवीकरण गरिसक्न र चुनावी साधारणसभामा सहभागी हुन सबै सदस्यलाई आग्रह गरे ।
अध्यक्षसहित १९ पदका लागि निर्वाचन हुने भएकाले आवश्यक तयारी अघि बढाइएको उनले बताए । साधारणसभाको मिति सार्वजनिक भएसँगै नेतृत्वका आकाङ्क्षीहरूले चुनावी रणनीति बनाउन थालेका छन् । नयाँ नेतृत्व चयनका विषयमा व्यवसायीबीच छलफल तीव्र बनेको छ भने सम्भावित उम्मेदवारहरूको सक्रियता पनि बढेको छ ।
वर्तमान अध्यक्ष अग्रवालले आफू पुनः उम्मेदवार बन्ने वा नबन्ने विषयमा अन्तिम निर्णय नगरेको बताए । उनले व्यवसायीको चाहना भए पुनः नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सकिने संकेत गरेका छन् । आफ्नो कार्यकालमा व्यवसायीको हकहितका लागि विभिन्न काम गरिएको दाबी गर्दै अग्रवालले कर, उद्योग–व्यवसाय दर्ता तथा नवीकरण, उत्पादन, स्वच्छता र गुणस्तरसम्बन्धी विषयमा विज्ञमार्फत तालिम सञ्चालन गरिएको बताए ।
उनले कोरोना महामारी, विभिन्न आन्दोलन, सरकारको कर नीति, बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदरलगायतका कारण जिल्लाको व्यापार–व्यवसाय प्रभावित भएको बताए । बजारका कतिपय सटर खाली हुन थालेको र केही व्यवसायी घरजग्गा बिक्री गरेर व्यवसायबाट पलायन हुन बाध्य भएको उनको भनाइ छ ।
सङ्घका महासचिव अमृत सन्चेतीले बैंकको चर्को ब्याजदर, विद्युत् महसुलमा जरिवाना, भन्सार महसुल वृद्धि तथा नेपाल राष्ट्र बैंकको कर्जा सूचना केन्द्रसम्बन्धी प्रक्रियाका कारण व्यवसाय सञ्चालनमा समस्या भइरहेको बताए ।
स्थानीय व्यवसायीका अनुसार आगामी निर्वाचनमा यिनै समस्या उम्मेदवारका मुख्य चुनावी एजेन्डा बन्ने सम्भावना छ । सप्तरी उद्योग वाणिज्य सङ्घमा जिल्लाका १८ वटै स्थानीय तहबाट कुल ६ हजार ३४ सदस्य आबद्ध छन् । सङ्घका अनुसार सदस्यता नवीकरण गरेका सदस्यले मात्र निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था रहेको छ ।