बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित धर्मेश्वर मन्दिर अगाडि बेवारिसे अवस्थामा एउटा बलेरो गाडी फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बा १४ च ८९२५ नम्बरको उक्त बलेरो गाडी साउन १९ गते मंगलबार साँझदेखि मन्दिर परिसरमा बेवारिसे अवस्थामा रहेको थियो । दुई दिनसम्म गाडी एकै स्थानमा रोकिएको देखेपछि जीतपुरसिमरा उपमहानगरपालिका–१ का वडा सदस्य राकेश सुब्बाले प्रहरीलाई जानकारी गराएका थिए । जनप्रतिनिधिबाट सूचना प्राप्त भएपछि पथलैया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गाडी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले गाडीका सवारीधनीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेका छन् ।
हालसम्म गाडी कसले, किन र कस्तो उद्देश्यले त्यहाँ छाडेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।