धनुषा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदका घटना उल्लेखनीय रूपमा बढ्दै गएका छन् ।
जिल्ला अदालत धनुषाको तथ्याङ्कले सामाजिक संरचनामा आएको परिवर्तन, बसाइँसराइ, आधुनिक जीवनशैली, आर्थिक अवस्था तथा वैदेशिक रोजगारीलगायतका कारण वैवाहिक सम्बन्धमा तनाव बढ्दै गएको देखाएको छ । जिल्ला अदालत धनुषाका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदसम्बन्धी ३३३ वटा नयाँ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ मुद्दा समेत जोड्दा अदालतमा कुल ५०० वटा सम्बन्धविच्छेदका मुद्दा रहेका थिए ।
तीमध्ये २८१ वटा मुद्दाको फैसला भइसकेको छ भने २१९ वटा मुद्दा अझै विचाराधीन रहेका सूचना अधिकारी महतोले जानकारी दिए । यसअघि आर्थिक वर्ष २०८१/८२ मा सम्बन्धविच्छेदसम्बन्धी ३१५ वटा नयाँ मुद्दा दर्ता भएका थिए। सो वर्ष ३४७ मुद्दाको फैसला भएको थियो भने १६७ मुद्दा चालु आर्थिक वर्षमा सरेका थिए । लगातार बढ्दो मुद्दा दर्ताले धनुषामा वैवाहिक सम्बन्धमा तनाव र असमझदारी बढ्दै गएको संकेत गरेको छ ।
कानुन व्यवसायी राजकुमार महासेठका अनुसार शिक्षा र चेतनाको विस्तारसँगै महिलाको आर्थिक तथा सामाजिक अवस्था सुदृढ हुनु, वैदेशिक रोजगारीका कारण पति–पत्नी लामो समयसम्म अलग बस्नुपर्ने अवस्था, सामाजिक सञ्जालको बढ्दो प्रयोग, पारिवारिक विवाद तथा घरेलु हिंसाका घटनाले सम्बन्धविच्छेदका मुद्दा बढ्न सहयोग पुगेको छ । उनका अनुसार गरिबी, बेरोजगारी, वैदेशिक रोजगारीबाट आएको सामाजिक परिवर्तन, एक्लै बस्न रुचाउने जीवनशैली तथा व्यक्तिगत स्वतन्त्रताप्रतिको बढ्दो चेतनाले दाम्पत्य सम्बन्धलाई नयाँ चुनौती दिइरहेको छ ।
महासेठले पछिल्लो समय महिला वा पुरुष दुवैले आफूलाई अन्याय भएको महसुस गरे कानुनी उपचार खोज्ने प्रवृत्ति बढेको बताए । उनका अनुसार सम्बन्धविच्छेदका घटना बढ्नुले एकातिर व्यक्तिगत अधिकारप्रतिको चेतना बढेको देखाए पनि अर्कोतर्फ पारिवारिक सम्बन्धमा संवाद, सहिष्णुता र आपसी समझदारी घट्दै गएको संकेत गर्दछ ।
यस्तै, कानुन व्यवसायी दीपककुमार विश्वकर्माले सम्बन्धविच्छेदसम्बन्धी मुद्दा बढेसँगै अदालतमा पारिवारिक विवाद समाधानका लागि मध्यस्थताको आवश्यकता पनि बढ्दै गएको बताए ।
उनले समयमै वैवाहिक परामर्श, मनोसामाजिक सहयोग, वैवाहिक शिक्षा तथा परिवारभित्र खुला संवादलाई प्रोत्साहन गर्न सके सम्बन्धविच्छेदका बढ्दो घटनालाई केही हदसम्म न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरे ।