उपकार सेवा नेपालले आफ्नो नियमित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पर्साको ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ ।
आश्रममा आश्रित रहेका १८ जना अपाङ्गता भएका व्यक्ति, सुस्त मनःस्थिति भएका व्यक्ति, वृद्ध–वृद्धा तथा बालबालिकाको उपभोगका लागि संस्थाले चामल, पिठो, सोयाबिन, दाल, खानेतेल, नुन, लुगा धुने साबुन, लाई (भुजा) लगायतका दैनिक आवश्यक सामग्री उपलब्ध गराएको हो । संस्थाले ३०–३० किलोका दुई बोरा चामल, एक बोरा पिठो, एक बोरा सोयाबिन, १० किलो दाल, चार लिटर खानेतेल, छ किलो नुन, एक पेटी लुगा धुने साबुन र पाँच किलो लाई (भुजा) आश्रमलाई हस्तान्तरण गरेको जनाएको छ ।
आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्याकुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूले आश्रमका सदस्य युहन्न गुरुङ, ममता गुरुङ र बिमाया थापालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
उपकार सेवा नेपालले विगतदेखि नै उक्त आश्रमलाई प्रत्येक महिना खाद्यान्न तथा अन्य जिन्सी सामग्री सहयोग गर्दै आएको जनाएको छ । संस्थाले आगामी दिनमा पनि सामाजिक सेवाका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।