ढल्केवरस्थित ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णयको विरोधमा स्थानीय स्तरमा ‘ढल्केवर ट्रमा सेन्टर संरक्षण सङ्घर्ष समिति’ गठन गरिएको छ ।
समितिले सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको संयोजकत्वमा गठित समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय जनभावनाविपरीत रहेको भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो ।
समितिका संयोजक महतोले ढल्केवर ट्रमा सेन्टर स्थानीयवासीको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको अत्यावश्यक सेवा भएकाले यसलाई अन्यत्र सार्ने निर्णय स्वीकार्य नहुने बताए।उनले भने, “ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने निर्णय तत्काल खारेज गरी सेवा यथास्थानमै सञ्चालन गरिनुपर्छ। जनभावनाको कदर गर्दै सरकारले आफ्नो निर्णय नसच्याए हामी कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ ।”
सङ्घर्ष समितिले आफ्ना माग सम्बोधन नभए सडक आन्दोलन, धर्ना, रिले अनशनलगायतका थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनी पनि दिएको छ । स्थानीयवासीको स्वास्थ्य अधिकारको रक्षा गर्न कुनै पनि अवस्थामा पछि नहट्ने अडान समितिले दोहोर्याएको छ ।