खोलाको बाढी खेतमा पसेपछि सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकामा भर्खरै रोपिएको करिब १ हजार ५ सय बिघा धानबाली डुबानमा परेको छ ।
गत सोमबार राति आएको लखन्देही खाेलाकाे बाढीले कौडेना गाउँपालिका–५ छपकैयामा बाँध भत्काएर किसानको खेतमा प्रवेश गरेको थियो । बाढीका कारण कौडेना–५ छपकैयामा करिब ८ सय बिघा, मलङ्गवा नगरपालिका–६ खुटौनामा ५ सय बिघा र मलङ्गवा–५ भाडसरमा ३ सय बिघा धान खेत डुबानमा परेको किसानहरूले बताएका छन् ।
बाढीले खेतसँगै केही घरगोठसमेत डुबानमा परेका छन् । भाडसर गाउँका स्थानीय मुमताज मिकरानीले चार दिनदेखि बस्ती र धान खेत डुबानमा परेको बताउँदै वर्षौंदेखि यस्तो समस्या झेल्दै आएको गुनासो गरेका छन् ।
“यो अहिलेको मात्र समस्या होइन, १५ वर्षदेखि हरेक वर्षायाममा यही समस्या भोगिरहेका छौँ,” उनले बताए ।
खुटौनाका किसान श्यामराय यादवले चार दिनदेखि खेत र बस्ती डुबानमा रहे पनि पानी निकासको उचित व्यवस्था नभएको बताए । उनका अनुसार लखन्देहीखोलामा पर्याप्त अध्ययनबिना बाँध निर्माण गरिँदा बर्सेनि बाँध भत्किने र बस्ती तथा खेत डुबानमा पर्ने समस्या दोहोरिँदै आएको छ । भर्खरै रोपिएको धान चार दिनसम्म पानीमा डुबेकाले नष्ट भएको किसानहरूले बताएका छन् । पुनः रोपाइँका लागि ब्याड र बीउसमेत उपलब्ध नभएकाले किसान थप समस्यामा परेका छन् ।
मलङ्गवा नगरपालिका–६ का वडाध्यक्ष रामकैलाश यादवले बागमती र भुड्की नहरमा पर्याप्त पानी रहेको अवस्थामा किसानले रोपाइँ सक्नासाथ लखन्देहीखोलाको बाढीले क्षति पुर्याएको बताए । उनका अनुसार यस वर्ष वडा कार्यालयको १८ लाख रुपैयाँ खर्चमा निर्माण गरिएको बाँधसमेत बाढीले क्षति पुर्याएको छ ।
“लखन्देहीखोलाले बर्सेनि धार परिवर्तन गर्दा कटान र डुबानको समस्या दोहोरिरहेको छ । एकातिर बाँध निर्माण गरिन्छ, बाढी आएपछि अर्कोतर्फबाट बाँध भत्काउँछ,” उनले बताए ।
कौडेना गाउँपालिकाका अध्यक्ष रूपेशकुमार (बब्लु) ले छपकैया, शिवनगर, सव्रौललगायत क्षेत्रमा हरेक वर्ष डुबान र कटानको समस्या देखिँदै आएको बताए । बाधका लागि “पालिका वा तटबन्ध कार्यालयको सानो बजेटले यो समस्या समाधान हुँदैन । दीर्घकालीन रूपमा ठूलो योजना आवश्यक छ,” अध्यक्ष रूपेशकुमारले भने त्यसका लागि बजेट माग्ने काम भइरहेकाे छ ।
बाढीका कारण क्षेत्र जलमग्न भएपछि सदरमुकाम मलङ्गवाबाट भाडसर र खुटौना पुग्नसमेत कठिन भएको स्थानीयले बताएका छन् ।