सिराहा । सिराहामा प्रहरीले करिब ९१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ भने घटनामा संलग्न अन्य चार जना फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार राति नियमित गस्तीका क्रममा सखुवानान्कारकट्टी गाउँपालिका–४ स्थित सिमरा बलान खोलाबाट गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय सिराहा र महेशवारीबाट खटिएको संयुक्त गस्ती टोलीले पाँच जना व्यक्तिलाई कपडाको नाम्लो बनाई टाउकोमा बोरा बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो। प्रहरी टोली देख्नासाथ उनीहरू बोरा फालेर भागेका थिए ।
भाग्ने क्रममा भगवानपुर गाउँपालिका–४ जमुवाटोल निवासी ४३ वर्षीय मोहन साहलाई प्रहरीले पक्राउ गरेको छ। घटनास्थलमा छाडिएका बोराको खानतलासी गर्दा करिब ९१ किलो लागुऔषध गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मोहन साहलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिराहामा राखिएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न भगवानपुर गाउँपालिका–४ जमुवाटोल निवासी ४३ वर्षीय कलेन्द्र यादव, ब्रम्हदेव यादव तथा पहिचान खुल्न बाँकी अन्य दुई जना फरार छन्। उनीहरूको खोजी तथा पक्राउका लागि प्रहरीले खोजतलास तीव्र बनाएको जनाएको छ ।