वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौं महानगरपालिका–२८ बस्ने ४६ वर्षीय एम.डी. खुर्सिद आलम नेपाली, नवलपरासी पश्चिम घर भई ललितपुरको गोदावरी नगरपालिका–२ बस्ने ३३ वर्षीय भुप नारायण चौधरी, सिराहा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने ३४ वर्षीय बसन्त कुमार सिंह र संखुवासभा घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–९ बस्ने ४२ वर्षीय रस्तमान राई रहेका छन् ।
प्रहरीका अनुसार एम.डी. खुर्सिदले ग्रीस पठाइदिने भन्दै एक जना पीडितबाट ८ लाख रुपैयाँ लिएका थिए। त्यस्तै भुप नारायण चौधरीले जर्मनी पठाइदिने भन्दै तीन जना पीडितबाट ३२ लाख रुपैयाँ, बसन्त कुमार सिंहले यूएई पठाइदिने भन्दै ११ जना पीडितबाट २१ लाख रुपैयाँ र रस्तमान राईले बेलायत पठाइदिने भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ लिएको आरोप रहेकाे छ ।
रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले एम.डी. खुर्सिदलाई काठमाडौं महानगरपालिका–२८ र भुप नारायण चौधरीलाई काठमाडौं महानगरपालिका–२ बाट बिहीबार पक्राउ गरेको जनाएको छ। यस्तै बसन्त कुमार सिंहलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ र रस्तमान राईलाई ललितपुर महानगरपालिका–८ बाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।