काठमाडौंमा सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा घर भई बुढानीलकण्ठ नगरपालिका–८ बालुवाखानी बस्ने ३८ वर्षीय घनश्याम क्रामछाकी, तनहुँ घर भई बुढानीलकण्ठ–१३ भंगाल बस्ने २४ वर्षीय अन्जान दाश र काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी बस्ने २८ वर्षीय सजिर श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार बुढानीलकण्ठ नगरपालिका–९ पिपलबोटस्थित एक घरबाट साउन १२ गते तथा बुढानीलकण्ठ–१२ राधाकृष्ण मन्दिरस्थित अर्को घरबाट साउन २० गते सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल चोरी भएको थियो । घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसहितको प्रहरी टोलीले चोरीमा संलग्न रहेको आशंकामा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।