सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८, जोगिनियाबाट प्रहरीले ३ सय २ किलो ४ सय ८० ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जोगिनियास्थित कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामा लगाइएको सनपाट (पटुवा) खेतबारीबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
भारत बिहारका नन्दकिशोर मुखियाले लगाएको सनपाट खेतमा खानतलासी गर्दा १२ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको गाँजा हनुमाननगर कंकालिनी नगरपालिका–७, मुखिया टोलकी ५३ वर्षीया माधुरी मुखियाको रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज धिमिरेका अनुसार बरामद गाँजाको तौल गर्दा कुल ३०२ किलो ४८० ग्राम रहेको पाइएको छ । प्रहरीले पक्राउ परेकी मुखियालाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।