जनकपुरधाम । धनुषाको ढल्केबरमा स्थापना गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासको विरोधमा जारी आन्दोलनको चौथो दिन आइतबार साँझ स्थानीयवासीले मसाल जुलुस निकालेका छन् ।
ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा आयोजित मसाल जुलुसमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ढल्केबर बजार परिक्रमा गरेको जुलुसका सहभागीहरूले ट्रमा सेन्टर ढल्केबरमै कायम गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
आन्दोलनरत पक्षले ट्रमा सेन्टर अन्यत्र सार्ने कुनै पनि निर्णय स्थानीय जनताको हितविपरीत हुने भन्दै तत्काल यस्तो प्रयास रोक्न सरकारसँग माग गरेका छन् । उनीहरूले ट्रमा सेन्टरलाई ढल्केबरमै सञ्चालनमा राख्नुपर्ने अडान दोहोर्याउँदै आवश्यक परे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।
संघर्ष समितिले स्थानीयको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्ने भएकाले ट्रमा सेन्टर स्थानान्तरणको निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेको छ ।