धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर तोकिएकै स्थानमा निर्माण गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनको पाँचौँ दिन स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागितामा राजमार्ग आधा घण्टा अवरुद्ध गरिएको हो । आन्दोलनकारीले बिहान ११ बजेदेखि ११ः३० बजेसम्म पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
गत शुक्रबार प्रस्तावित स्थानमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने मागसहित संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । त्यसयता ढल्केबरमा विरोध प्रदर्शन हुँदै आएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबर क्षेत्रमा थप विरोध चर्किएको हो ।
संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोका अनुसार आन्दोलनका थप कार्यक्रमसमेत घोषणा गरिएको छ। उनका अनुसार भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म र २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राजमार्ग चक्काजाम गरिनेछ । नगरप्रमुख महतोका अनुसार मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस–२ ‘क’ स्थित कित्ता नम्बर १६९ को करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा ट्रमा सेन्टर निर्माणका लागि पहिलोपटक बजेट विनियोजन गरेको थियो ।
उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको र लालपुर्जा समेत बनिसकेको महतोले बताए । ट्रमा सेन्टर शिलान्यासको तयारी भइरहेका बेला निर्माणस्थल परिवर्तन गर्ने विषयले विवाद सिर्जना गरेको उनको भनाइ छ ।
स्थानीयवासीले लामो समयदेखि अघि बढाइएको योजना प्रस्तावित स्थानमै कार्यान्वयन हुनुपर्ने भन्दै आन्दोलन जारी राखेका छन् ।