सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट बयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटरलाई रोकेर जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।
प्रहरीका अनुसार स्कुटरको डिकी, अगाडिको फुटबोर्ड तथा चालकले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ५१ लाख ३४ हजार रुपैयाँ बरामद भएको हो ।
बरामद रकममा १ हजार रुपैयाँ दरका ३ हजार ५०० थान, ५ सय रुपैयाँ दरका ३ हजार १०८ थान, १ सय रुपैयाँ दरका ७ सय थान र ५० रुपैयाँ दरका २ सय थान नोट रहेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ का ५७ वर्षीय जगन्नाथ महतो कोइरी रहेका छन् । उनलाई नियन्त्रणमा लिने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा कोइरी घाइते भएका छन् ।
उनको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि म्याक्स अस्पताल मलङ्गवा लगिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
कोइरीलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्र यादवसमेत सामान्य घाइते भएका थिए । उनीहरू प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
बरामद रकम, स्कुटर र पक्राउ परेका कोइरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।