नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रअन्तर्गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उठाउनुपर्ने विद्युत् महसुल बक्यौता ७ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार उक्त बक्यौताको ठूलो हिस्सा बारा–पर्सा औद्योगिक करिडोरका चार ठूला उद्योगको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल रहेको छ । सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर माधव महतका अनुसार हुलास स्टिल, जगदम्बा स्टिल, अशोक स्टिल र हामा आइरनको मात्रै ७ अर्ब २१ करोड रुपैयाँ बक्यौता रहेको छ । यीमध्ये जगदम्बा स्टिलको मात्रै करिब १ अर्ब ६० करोड रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ। तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा जगदम्बा स्टिलले एक किस्ता तथा अन्य तीन उद्योगले दुई–दुई किस्ता रकम बुझाएका थिए। तर गत मंसिरदेखि उद्योगहरूले डेडिकेटेड तथा ट्रंक लाइनको किस्ता बुझाउन छाडेको प्रमुख महतले बताए ।
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौताका कारण शतप्रतिशत विद्युत् महसुल असुली गर्न नसकिएको प्राधिकरणले जनाएको छ । सिमरा वितरण केन्द्रअन्तर्गत औद्योगिक ग्राहकबाट मात्रै वार्षिक करिब ४ अर्ब ६७ करोड रुपैयाँ राजस्व उठ्ने गरेको छ। केन्द्रअन्तर्गत बारा–पर्सा औद्योगिक करिडोरका उद्योगीसहित करिब ४२ हजार उपभोक्ता आबद्ध छन् ।
सिमरा वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा कुल ५ अर्ब १९ करोड रुपैयाँ विद्युत् राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा भने ४ अर्ब ४२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष विद्युत् राजस्व ७७ करोड १० लाख रुपैयाँले वृद्धि भएको हो ।
गत आर्थिक वर्षमा ८८० जना नयाँ ग्राहक थपिएका छन्। यद्यपि, मिटर अभावका कारण अपेक्षाअनुसार नयाँ ग्राहक थप्न नसकिएको प्रमुख महतले बताए । उनका अनुसार करिब दुई हजारभन्दा बढी नयाँ ग्राहक थपिनुपर्ने अवस्था भए पनि मिटर अभावले संख्या सीमित भएको हो । प्राधिकरणले विद्युत् लाइन काटेर गत आर्थिक वर्ष ११ करोड ६० लाख रुपैयाँ बक्यौता असुल गरेको छ । सिमरा वितरण केन्द्रअन्तर्गत विद्युत् चुहावट भने २.०६ प्रतिशत मात्र रहेको जनाइएको छ ।
विद्युत् आपूर्ति सुधारका लागि वितरण केन्द्रले ११ केभी लाइनको मर्मतसम्भार तथा स्तरोन्नतिसमेत गरेको छ। जीतपुरसिमरा–१६ पिलुवा सबस्टेसनदेखि वडा नम्बर ४ को औराहासम्म विशेष आर्थिक क्षेत्र (सेज) का लागि ३३ केभी प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ । यसैबीच, सिमरा वितरण केन्द्रअन्तर्गत विद्युत् बिक्रीसमेत बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा ५७ करोड ३९ लाख युनिट विद्युत् बिक्री भएकोमा आर्थिक वर्ष २०८२/८३ मा ६६ करोड ७४ लाख युनिट बिक्री भएको छ ।
प्रमुख महतका अनुसार एक वर्षमा विद्युत् खपत ९ करोड ३४ लाख युनिटले वृद्धि भएको छ । विद्युत् उपभोग बढेसँगै केन्द्रको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ ।