नापी कार्यालय धनुषाले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मै सम्पन्न भएको थियो । नापजाँच पूरा भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो ।
आयोगबाट विगतमा नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी नापी कार्यालयले ११० थान जग्गाधनी पुर्जा वितरण गरेको हो ।
पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ११० परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन् । यसबाट वर्षौंदेखि जग्गाको स्वामित्वसम्बन्धी समस्या भोग्दै आएका स्थानीयलाई राहत मिलेको छ ।