पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्तले निर्वाचन क्षेत्रमा देखिएका सामान्य तर जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधान गर्न स्थानीय तह र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले निर्वाचन क्षेत्रमा पुग्दा स्थानीयवासीले विभिन्न समस्या देखाउने र जनप्रतिनिधिबाट समाधानको अपेक्षा राख्ने गरेको बताउनुभयो । उहाँले कतिपय समस्या स्थानीय सरकारले न्यून बजेट र सीमित जनशक्तिबाटै तत्काल समाधान गर्न सक्ने भए पनि सामान्य पहलसमेत नहुँदा नागरिकले दुःख पाउनुपरेको उल्लेख गर्नुभयो ।
वर्षायाममा सडकमा पानी जमेर दह बन्ने समस्या दुई–चार ट्र्याक्टर ग्राभेल हालेर समाधान गर्न सकिने भए पनि त्यसो नहुँदा बालबालिका विद्यालय जानसमेत समस्या हुने गरेको उहाँले बताउनुभयो । कतिपय विद्यालयमा डेस्क–बेन्च नहुँदा विद्यार्थी भुइँमा बसेर पढ्नुपर्ने तथा कक्षाकोठामा पंखा नहुँदा गर्मीका कारण विद्यार्थी बेहोस हुने अवस्थासमेत रहेको उहाँको भनाइ छ ।
सांसद पन्तले निर्वाचन क्षेत्रका यस्ता साना–तिना समस्या समाधान गर्न सांसदसँग छुट्टै स्रोत वा कोष नहुँदा समस्या देखेर पनि समाधान गर्न नसक्ने अवस्था रहेको गुनासो गर्नुभयो ।
उहाँले विगतमा संसदीय कोषको दुरुपयोग नभएको भए अहिले त्यसलाई सही रूपमा सदुपयोग गर्न सकिने धारणा राख्नुभयो। उद्देश्य सही हुँदाहुँदै पनि गलत पात्र र प्रवृत्तिका कारण कतिपय व्यवस्था नै विकृत बन्न पुगेको उहाँको भनाइ थियो ।