भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ “ए” जलविद्युत् आयोजनाको भूमिगत संरचनामा सम्पर्कविहीन रहेका दुई कर्मचारी क्रमश : सञ्जय साह र कवीर महर्जनको सकुशल उद्धार भएको छ । १० दिनपछि उद्धार गरिएका सञ्जय र कवीर दुवै इन्जिनियर हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दिएको जानकारीअनुसार ३० वर्षीय सञ्जय साह मेकानिकल फोरमेन हुन् । उनी माथिल्लो त्रिशूली–३ “ए” जलविद्युत् आयोजनामा कार्यरत थिए । उनको स्थायी ठेगाना सप्तरीको कोइलाडी–८ रहेको छ ।
उद्धार गरिएका अर्का ४५ वर्षीय कवीर महर्जन मेकानिकल सुपरभाइजर हुन् । उनी हाइड्रोपावर अटोमेसन प्रोजेक्टमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ । उनको स्थायी ठेगाना काठमाडौंको बालकुमारी हो ।
रसुवाको भोटेकोशी बाढीपछि दुवै जना सम्पर्कविहीन थिए । आयोजनाको भूमिगत संरचनामा कार्यरत ठूलो संख्याका कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका थिए । मन्त्रालयले तयार पारेको विवरणमा सञ्जय र कवीरको नाम पनि सम्पर्कविहीन व्यक्तिको सूचीमा थियो ।
बाढीका कारण आयोजनाको भूमिगत संरचनाको प्रवेश क्षेत्रमा ठूलो परिमाणमा माटो, लेदो र गेग्रान थुप्रिएपछि उद्धार कार्यमा सकस भइरहको थियो । तर, सेना, प्रहरी र सशस्त्र प्रहरीसँगै अन्य प्राविधिक विज्ञहरू हार मानेका थिएनन् ।
निरन्तर खोजको प्रयासपछि शुक्रबार बिहान कवीर र सञ्जयलाई उद्धार गर्न सफल भएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले बताए । ‘उद्धार टोलीले लामो प्रयासपछि ती अवरोध हटाउँदै भूमिगत संरचनातर्फ पहुँच बनाएको थियो,’ बस्नेतले भने, “उद्धारका क्रममा सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएपछि उद्धार अभियानमा नयाँ आशा पलाएको थियो।”
उद्धार टोलीले भित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै सुरुङ भित्र प्रवेश गरिएको थियो ।
सहायक रथी बस्नेतका अनुसार सुरुङभित्र जीवित व्यक्ति रहेको सूचना प्राप्त भएपछि सञ्जय र कवीरलाई सकुशल बाहिर निकालिएको हो । उनका अनुसार २ जनाको सकुशल उद्धार भएपछि सम्पर्कविहीन रहेका अन्य व्यक्तिको उद्धारमा समेत आशा बढेको छ।
उद्धार टोलीले सुरुङभित्र रहेका सम्भावित व्यक्तिको खोजीलाई निरन्तरता दिइरहेको छ। कठिन भौगोलिक अवस्था र सुरुङमा थुप्रिएको ठूलो परिमाणको माटो, लेदो तथा ढुंगाका कारण उद्धार कार्य चुनौतीपूर्ण भए पनि जीवित व्यक्तिहरू भेटिन थालेपछि उद्धारमा खटिएकाहरूमा थप उत्साह थपिएको छ ।
सञ्जय र कवीरको सकुशल उद्धारले लामो समयदेखि आफन्तको अवस्थाबारे अनिश्चित रहेका परिवारमा भने ठूलो राहत दिएको छ । उद्धार गरिएका दुवैलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदैछ । गृह मन्त्रालयका अनुसार सुरुङभित्र अझै केही आवाज सुनिएकाले उद्धार टोली भित्र प्रवेश गरेको छ ।