सिन्धुपाल्चोक । रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका थप १५५ जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्।
चिनियाँ पक्षले उनीहरूलाई सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो। बाढीपछि चीनतर्फ फसेका नेपालीलाई स्वदेश फर्काउने क्रममा दुई दिनमा २६९ जना नेपाल फर्किएका छन्। बिहीबार पहिलो दिन ११४ जना र शुक्रबार दोस्रो दिन १५५ जना नेपाली स्वदेश आएका हुन्।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार स्वदेश फर्किएका १५५ जनामध्ये १४५ जना रसुवाका नागरिक छन्। त्यस्तै, धादिङका एक जना र काठमाडौंका नौ जना रहेका छन्।
चिनियाँ पक्षले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बरलगायत आवश्यक विवरणसमेत नेपाली अधिकारीलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।
नेपाल आइपुगेका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरेपछि काठमाडौं पठाइने व्यवस्था गरिएको छ। बिहीबार फर्किएका नागरिकलाई भोटेकोशी गाउँपालिकाले काठमाडौंसम्म पुग्न यातायातको व्यवस्था गरेको थियो भने शुक्रबार फर्किएका नागरिकका लागि उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले यातायातको प्रबन्ध गरेको छ।
रसुवामा आएको बाढीका कारण ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका थिए। बाढीका कारण चीनतर्फ करिब ८ सय नेपाली फसेको बताइएको छ। उनीहरूलाई चिनियाँ पक्षसँगको समन्वयमा क्रमशः तातोपानी नाका हुँदै स्वदेश फर्काउने प्रक्रिया जारी रहेको प्रशासनले जनाएको छ।