हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता २ करोड रुपैयाँ धरौटी बुझाएर डिल्लीबजार कारागारबाट रिहा भएका छन्।
दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले गरेको थुनछेक आदेश बदर गर्दै सर्वोच्च अदालतले गुप्तालाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशअनुसार बैंक जमानतबापतको धरौटी बुझाएपछि गुप्ता बिहीबार साँझ कारागारबाट छुटेका हुन्।
गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए।
साउन २८ गते विशेष अदालतले गरेको आदेश बदर गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले भदौ १७ गते गुप्तालाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
हिमालयन रि–इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ दीपक भट्टको नाममा सेयर खरिद गर्न प्रयोग भएको देखिएको भन्दै तत्कालीन सञ्चालकहरूसमेतलाई प्रतिवादी बनाएर विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको थियो।
विशेष अदालतको पत्र प्राप्त भएपछि गुप्तालाई बिहीबार साँझ रिहा गरिएको डिल्लीबजार कारागार कार्यालयका एक अधिकृतले जानकारी दिए।
सर्वोच्चको आदेशपछि गुप्ता धरौटीमा रिहा भए पनि उनीविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दाको कानुनी प्रक्रिया भने जारी रहनेछ।