गृह मन्त्रालयले नयाँ विभाग स्थापना गरेको छ । बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि गरेको मन्त्रालयको ओ एन्ड एममा नयाँ विभाग थपिएको मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
“मन्त्रालयको ओ एन्ड एम गर्दा नयाँ विभागको रूपमा लागु औषध नियन्त्रण विभाग बनाउने निर्णय भएको छ । त्यसको स्थापना गर्ने काम भइरहेको छ,÷ प्रवक्ता काफ्लेले भने । मन्त्रालयले भदौ १८ गते ऋषिराम तिवारीलाई विभागको महानिर्देशकको रूपमा सरुवा गरेको छ । महानिर्देशक तिवारीले नयाँ विभाग भएकाले स्थापनाका लागि घर खोज्ने काम चलिरहेको जानकारी दिए । “नयाँ विभाग हो, बस्ने स्थान खोजिरहेका छौँ,’ महानिर्देशक तिवारीले भने ।
विभागमा १ सहसचिव, २ उपसचिव, ३ शाखा अधिकृत, ५ नायब सुब्बा र २ कम्प्युटर अपरेटरको दरबन्दी पनि स्वीकृत गरिएको छ । यसअघि मन्त्रालयमा लागु औषध नियन्त्रण शाखा थियो । अब त्यो शाखालाई बढाएर विभाग बनाइएको हो ।
शाखाले लागु औषधसम्बन्धी नीति तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, लागू पदार्थ दुर्व्यसनीहरूको उपचार एवं पुनर्स्थापना सम्बन्धी नीति निर्धारण, लागु औषध बिक्री वितरण, ओसारपसार र दुरुपयोग नियन्त्रण र लागु पदार्थ सम्बन्धी कार्यहरूको अभिलेख राख्ने काम गर्दै आएको थियो ।
त्यस्तै,औषधि तयार गर्न चाहिने लागु पदार्थ झिकाउन र प्रयोग गर्न अनुमति दिने, बरामद भएको लागु औषध नष्ट गर्ने गराउने, लागु पदार्थ नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले तय गरेका कार्यहरू गर्ने गराउने, लागु पदार्थ दुर्व्यसनीहरूको उपचार एवं पुनर्स्थापना सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयनको लागि सामाजिक सङ्घ, संस्थाहरूसँग समन्वय राख्ने, लागु पदार्थको दुष्परिणाम सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यहरूको तर्जुमा गर्ने र प्रचार प्रसार गर्ने लगायतका काम गर्दै आएको थियो ।
अब कार्यक्षेत्रको दायरा बढाएर विभाग बनाइएको हो ।