काठमाडौं जोड्ने प्रमुख राजमार्गमा आएको अवरोधका कारण बारा–पर्सा औद्योगिक करिडोरको उत्पादन र आपूर्ति प्रणाली प्रभावित हुन थालेको छ। सडक अवरुद्ध हुँदा करिडोरका उद्योगबाट उत्पादित सामान काठमाडौंलगायतका बजारमा पुग्न सकेका छैनन् भने वीरगंज भन्सारबाट आयात भएका कच्चा पदार्थ तथा तयारी वस्तुसमेत गन्तव्यतर्फ ढुवानी हुन नसक्दा गोदाममा थुप्रिन थालेका छन्।
बाढीपहिरोका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि प्रयोग भइरहेका त्रिभुवन राजपथ र कान्ति लोकपथमा समेत ठूला मालवाहक सवारी सञ्चालनमा समस्या देखिएको छ। ६ चक्केभन्दा ठूला सवारी साधनलाई वैकल्पिक मार्गबाट पूर्ण क्षमतामा सञ्चालन गर्न कठिन भएपछि बारा–पर्सा करिडोरदेखि काठमाडौंसम्मको आपूर्ति शृंखला प्रभावित बनेको हो।
देशको औद्योगिक उत्पादन र व्यापारमा महत्वपूर्ण योगदान गर्दै आएको बारा–पर्सा औद्योगिक करिडोरबाट दैनिक ठूलो परिमाणमा सामान काठमाडौं उपत्यकासहित देशका विभिन्न बजारमा जाने गर्छ। तर, अहिले ढुवानीमा आएको अवरोधका कारण तयारी वस्तु बजारसम्म पुर्याउन नसक्दा उद्योगका गोदाम भरिन थालेका छन्। भण्डारण क्षमता सकिँदै गएपछि उद्योगहरूले उत्पादनसमेत घटाउन थालेका छन्।
वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पालका अनुसार आयातमा ठूलो गिरावट नआए पनि ढुवानी प्रणाली प्रभावित हुँदा उद्योग र भन्सार दुवैतर्फ मालसामान व्यवस्थापनमा समस्या देखिएको छ।
उनले विगतमा काठमाडौंसम्म मालसामान पुर्याएर दुई दिनमै फर्किने मालवाहक सवारी अहिले पाँचदेखि छ दिनसम्म बाटोमै अल्झिनुपर्ने अवस्था रहेको बताए। अतिरिक्त भाडा तिर्न तयार हुँदा पनि सडकको जोखिमका कारण धेरै मालवाहक सवारी काठमाडौं जान इच्छुक नदेखिएको उनको भनाइ छ।
‘उद्योगमा सामानको माग छ, तर मालवाहक सवारी जाने अवस्था नहुँदा तयारी वस्तु गोदाममै थुप्रिएका छन्,’ पालले भने, “भण्डारणको समस्या बढेपछि उद्योगहरूले उत्पादन कटौती गर्न थालेका छन्।”
उनका अनुसार वीरगन्ज भन्सार क्षेत्रमा पनि ठूला ट्रक तथा लहरीका सयौं ट्रिप बराबरका मालसामान थुप्रिन थालेका छन्। सडक सञ्जाल तत्काल सञ्चालनमा नआए समस्या थप गम्भीर बन्ने उनले बताए।
सडक अवरोधबाट सिमेन्ट, छड, स्टिल, खाद्यान्न, चामल, दाल, तेल, प्लास्टिक तथा दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरू बढी प्रभावित भएका छन्। यी उद्योगका लागि काठमाडौं उपत्यका तथा आसपासका क्षेत्र प्रमुख बजार भएकाले सडक अवरोधको प्रत्यक्ष असर उत्पादनमा परेको उद्योगीहरूको भनाइ छ।
औद्योगिक कच्चा पदार्थ र तयारी सामान राख्ने ठाउँको अभाव हुन थालेपछि चौबीसै घण्टा सञ्चालन हुने कतिपय उद्योगले आफ्ना प्लान्टलाई कम सिफ्टमा सीमित गर्न थालेका छन्।
मधेश ढुवानी सेवा केन्द्रका अध्यक्ष हरि अधिकारीका अनुसार बारा–पर्सा औद्योगिक करिडोरका उद्योगको कुल उत्पादनमध्ये करिब ३५ देखि ५० प्रतिशतसम्मको खपत काठमाडौं उपत्यका तथा आसपासका बजारमा हुने गरेको छ। प्रमुख बजारसँगको सडक सम्पर्क प्रभावित हुँदा उत्पादनदेखि आपूर्तिसम्मको चक्र नै अस्तव्यस्त बनेको उनले बताए।
त्रिभुवन राजपथ र कान्ति लोकपथमा १२ तथा १४ चक्के ट्रक र लहरीलाई पूर्ण भार क्षमतामा सञ्चालन गर्न कठिन रहेको अधिकारीले बताए। केही १२ चक्के ट्रकलाई करिब १७ टनसम्म सामान बोकेर त्रिभुवन राजपथ हुँदै पठाउने प्रयास भए पनि काठमाडौं पुगेर वीरगन्ज फर्किन पाँचदेखि छ दिनसम्म लाग्ने गरेको उनले बताए।
वैकल्पिक मार्ग प्रयोग गरी ४ तथा ६ चक्के साना पिकअपबाट अत्यावश्यक सामान पठाउने गरिएको भए पनि यसले ढुवानी लागत उल्लेख्य रूपमा बढाएको छ। अधिकारीका अनुसार अत्यावश्यक वस्तुका लागि यस्तो विकल्प प्रयोग गर्न सकिए पनि ठूलो परिमाणका औद्योगिक सामान ढुवानी गर्न यो दीर्घकालीन समाधान बन्न सक्दैन।
दसैँ–तिहारजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको माग बढ्ने समयमा सडक अवरुद्ध भएपछि उद्योगी, यातायात व्यवसायी र उपभोक्ता थप चिन्तित बनेका छन्। सडक अवरोध लामो समय कायम रहे बजारमा सामानको अभाव हुनसक्ने र त्यसको प्रत्यक्ष असर मूल्यमा पर्न सक्ने जोखिम देखिएको छ।
ढुवानी प्रभावित हुँदा उद्योगको उत्पादन र बिक्रीमा मात्र नभई सरकारी राजस्व संकलनमा समेत असर पर्ने देखिएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत पूर्णप्रसाद लम्सालका अनुसार काठमाडौं जोड्ने मुख्य सडक अवरुद्ध भएपछि भन्सार क्षेत्रबाट हुने मालसामानको ढुवानी क्रमशः घट्दै गएको छ।
“करिडोरका कच्चा पदार्थबाहेक अन्य क्षेत्रका सामान लैजान आयातकर्ताले मालवाहक सवारी उपलब्ध गराउन सकेका छैनन्,” लम्सालले भने, “निर्यातमा ठूलो समस्या देखिएको छैन, तर आयातित मालसामान थुप्रिँदै जाँदा राजस्वलगायतका क्षेत्रमा असर पर्ने देखिन्छ।”
उद्योगीहरूका अनुसार सडक अवरोध अझै केही साता कायम रहे करिडोरका अधिकांश उद्योगले उत्पादन थप घटाउनुपर्ने र कतिपय उद्योग पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले औद्योगिक कच्चा पदार्थ, तयारी वस्तु र दैनिक उपभोग्य सामानको आपूर्ति सहज बनाउन काठमाडौं जोड्ने सडकमार्ग तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनीहरूको माग छ।