भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार टोलीको मुख्य ध्यान चिलिमे जलविद्युत आयोजनाको सुरुङमा केन्द्रित गरिएको छ । जलविद्युत आयोजनाका सुरुङहरूमा थुनिएका मानिसहरूको खोजी तथा उद्धार कार्यअन्तर्गत चिलिमे सुरुङभित्र अझै करिब ६ जना फसेको अनुमान गरिएको छ ।
उनीहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना उच्च रहेको भन्दै नेपाली सेना तथा संयुक्त उद्धार टोलीले चिलिमे क्षेत्रको खोजीलाई प्राथमिकताका साथ अघि बढाएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार चिलिमे जलविद्युत आयोजनामा जिउँदै उद्धार गर्न सकिने आशामा सबै प्रयास केन्द्रित गरिएका छन् । ‘हालसम्म नेपाली सेना र भारतीय सेनाको संयुक्त टोली सुरुङभित्र करिब ११५ मिटरसम्म प्रवेश गरेर खोजी गरिसकेको भए पनि त्यहाँ कसैको स्थिति स्पष्ट भइसकेको छैन,’ शाक्यले लोकान्तरसँग भने, ‘तर ६ जना भित्रै रहेको अनुमानका आधारमा खोजी कार्यलाई तीव्रता दिइएको छ ।’
भौगोलिक जटिलता र ठूला हेलिकप्टर अवतरण गर्ने ठाउँ नभएका कारण उपकरण लैजान कठिनाइ भएपछि गाडी जाने बाटो बनाउन विस्फोटक पदार्थसमेत प्रयोग गरिएको उनले खुलाए ।
‘उद्धार टोलीले बाटो निर्माण र सुरुङभित्रको खोजी कार्य एकसाथ अघि बढाएको छ र बाटो खुल्नासाथ थप भारी उपकरणहरू परिचालन गरिने तयारी छ,’ शाक्यले भने ।
बाढीपछि कारण जलविद्युत आयोजनाका सुरुङहरू प्रभावित भएपछि नेपाली सेनाको नेतृत्वमा उद्धार टोलीहरूले हवाई र जमिन दुवै मार्गबाट खोजी कार्य गरिरहेका छन् ।
शाक्यका अनुसार अन्य जलविद्युत आयोजनाहरूमा पनि उद्धार कार्य जारी राखिएको छ ।
“माथिल्लो त्रिशूली १ मा नेपाली सेना र कोरियन उद्धार टोलीले निरन्तर खोजी गरिरहेका छन् भने त्यहाँ थप एक जनाको शव फेला परेको भन्ने मैले सुनेको छु,” शाक्यले भने, “त्रिशूली ३बी मा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले २० देखि २५ फिट गहिराइसम्म खनेर खोजी गर्दा पनि पुराना आवास गृहहरू फेला पार्न सकेको छैन ।”
यसैगरी लाङटाङ क्षेत्रमा नेपाली सेनाको टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेको उनले बताए । उद्धार टोलीहरूले आवश्यक उपकरण र स्रोतसाधन परिचालन गर्दै सुरुङको अन्तिम विन्दुसम्म खोजी जारी राख्ने प्रतिबद्धता जनाएका छन् । शाक्यका अनुसार सुरुङभित्र कोही पनि बाँकी नरहेको निश्चित नभएसम्म खोजी तथा उद्धार कार्य रोकिने छैन ।
यसअघि आयोजनाका सुरुङहरूबाट ३ जनाको जीवितै सफल उद्धार भइसकेको छ भने केही स्थानबाट मृतकका शवहरूसमेत निकालिएको छ । नुवाकोट र रसुवाको सिमानामा रहेको त्रिशुली ३ “ए” जलविद्युत् आयोजनाको सुरुङभित्र ९ दिनदेखि थुनिएका नेपाल विद्युत प्राधिकरणका चौथो तहका मेकानिकल फोरम्यान ३० वर्षीय सञ्जय साह (सप्तरी, कोइलाडी) र मेकानिकल सुपरभाइजर ४५ वर्षीय कवीर महर्जन (काठमाडौं, बालकुमारी) को सकुशल उद्धार गरिएको हो ।
त्यसैगरी, नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विशेषज्ञ टोलीबाट माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना (२१६ मेगावाट) को सुरुङबाट बाढी आएको ११ औं दिनमा एक चिनियाँ नागरिकको सकुशल उद्धार भएको छ । तीनै जनाको अहिले काठमाडौंमा उपचार भैरहेको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढी तथा हिम पहिरोका कारण त्यस क्षेत्रका जलविद्युत आयोजनामा कार्यरत कामदारहरू सुरुङभित्रै फसेका छन् ।