हरितालिका तीज पर्वको तयारीस्वरूप नेपाली महिलाले आइतबार दर खाने भएका छन् । भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुने धार्मिक परम्परा छ । तीजको व्रतका दिन निराहार बस्ने भएकाले त्यसको अघिल्लो दिन बर्तालुले शरीरलाई आवश्यक ऊर्जा पुग्ने गरी विभिन्न पौष्टिक तथा आडिला परिकार खाने चलन छ । विशेषगरी माइती पक्षले छोरी, चेली, दिदीबहिनीलाई घरमा बोलाएर दर खुवाउने परम्परा रहँदै आएको छ । दरमा दूध तथा दूधबाट बनेका परिकार, घिउ, रोटी लगायतका खानेकुरा खाने गरिन्छ । धर्मशास्त्रविद्हरूका अनुसार दर रातको दुई भाग बित्नुअघि नै खाइसक्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

तीजलाई धार्मिक पर्वसँगै महिलाले आफ्ना सुख, दुःख, पीडा र सामाजिक अनुभव अभिव्यक्त गर्ने अवसरका रूपमा पनि लिने गरेका छन् । तीजका गीत तथा सांस्कृतिक प्रस्तुतिमार्फत महिलाले पारिवारिक तथा सामाजिक जीवनमा भोगेका अनुभव सार्वजनिक गर्ने परम्परा पुरानै हो । विवाहपछि कर्मघर पुगेका महिलाले माइती तथा साथीभाइसँग भेटघाट गर्दै वर्षभरिका सुख–दुःख साटासाट गर्ने भएकाले तीज सामाजिक सम्बन्ध पुनःस्थापित गर्ने पर्वका रूपमा पनि स्थापित भएको छ ।
पछिल्ला वर्षमा तीजको मौलिक संस्कृतिभन्दा तडकभडक र प्रदर्शनमुखी गतिविधि बढेको भन्दै संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । एक महिनाअघिदेखि नै दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने र भोजभतेरलाई प्राथमिकता दिने प्रवृत्तिले तीजको मूल उद्देश्य ओझेलमा पार्न थालेको उनीहरूको भनाइ छ । यस्तो प्रवृत्तिले आर्थिक रूपमा कमजोर वर्गमा हीनभावना सिर्जना गर्न सक्ने भएकाले पर्वलाई सरल र मौलिक रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ । धर्मशास्त्रविद्हरूका अनुसार शास्त्रीय रूपमा भने भाद्र शुक्ल द्वितीयाको बेलुकी मात्रै दर खाने समय मानिन्छ । तृतीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसअघि शरीरलाई आवश्यक ऊर्जा उपलब्ध गराउन दर खाने परम्परा विकास भएको बताइन्छ । सरकारी तथा सार्वजनिक संस्थाहरूमा समेत तीजका नाममा लामो समयअघिदेखि कार्यक्रम र भोज आयोजना गर्ने प्रवृत्ति बढेकामा पनि आलोचना हुने गरेको छ । संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी बोकेका संस्थाले नै अनावश्यक तडकभडकलाई प्रोत्साहन गर्न नहुने संस्कृतिविद्हरूको तर्क छ ।

आइतबार बेलुकी दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत तथा भगवान् शिवको पूजा गरिन्छ भने चौथीका दिन गणेशको पूजा गर्ने परम्परा छ । पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुने धार्मिक मान्यता छ । हरितालिका तीजको धार्मिक तथा पौराणिक सम्बन्ध भगवान् शिव र पार्वतीसँग जोडिएको छ । पौराणिक कथाअनुसार हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन् । पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले उनलाई लुकाएर सुरक्षित स्थानमा लगेका थिए । त्यही स्थानमा पार्वतीले निराहार व्रत बसेर शिवलाई पति रूपमा प्राप्त गरेको धार्मिक कथन छ । साथीहरूले पार्वतीलाई हरण गरेर लुकाएकाले यस पर्वलाई ‘हरितालिका’ भनिएको धार्मिक व्याख्या पाइन्छ । त्यसै घटनाको स्मरणमा भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्ने परम्परा चलेको मानिन्छ ।
तीजका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्ने गर्छ । यस अवसरमा महिलाहरू माइती, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी सुख–दुःख साट्ने गर्छन् । पछिल्लो समय तीज नेपालमा मात्रै सीमित नरही छिमेकी मुलुक भारतलगायत विभिन्न स्थानमा समेत मनाउन थालिएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालको विस्तारसँगै तीजका गीत तथा सांस्कृतिक गतिविधिको पहुँचसमेत फराकिलो भएको छ ।