पर्साको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जिराभवानी मन्दिर परिसरमा रहेको सार्वजनिक शौचालय उचित संरक्षण, मर्मतसम्भार र रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ ।
मन्दिरमा दैनिक आउने भक्तजन तथा दर्शनार्थीका लागि आवश्यक सार्वजनिक शौचालयको अवस्था दयनीय बन्दै गए पनि सम्बन्धित निकायले समयमै ध्यान नदिएको स्थानीयको गुनासो छ ।
शौचालयका ढोका उप्किएर भुइँमा खसेका छन् भने अन्य ढोका तथा भित्तासमेत मक्किँदै गएका छन् । नियमित सरसफाइ र मर्मतसम्भारको अभावमा शौचालय प्रयोग गर्नसमेत कठिन हुने अवस्था रहेको छ ।
शौचालय व्यवस्थित नहुँदा मन्दिरमा आउने दर्शनार्थी, साधुसन्त तथा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ । धार्मिक स्थलमा आवश्यक आधारभूत पूर्वाधारकै अवस्था कमजोर हुँदा मन्दिरको समग्र व्यवस्थापनमाथि समेत प्रश्न उठेको छ ।
धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको जिराभवानी मन्दिर परिसरमा रहेको सार्वजनिक शौचालयको तत्काल मर्मतसम्भार, सरसफाइ र संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ । स्थानीय तह, मन्दिर व्यवस्थापन समिति तथा सम्बन्धित सरोकारवाला निकायले समयमै ध्यान दिएर शौचालयलाई व्यवस्थित र प्रयोगयोग्य बनाउन स्थानीयले माग गरेका छन् ।