चिनी महँगीएर किलोको १४० रूपैयाँ पुगेको छ । तर पनि बजारमा अभाव नै छ । गोंगबुमा खाद्य किराना पसल चलाइरहेका चन्द्र थापाले नियमित ल्याइरहेको थोक गोदाममा चिनी नपाइएको बताए । “थोक गोदाममा चिनी छैन भन्ने जवाफ आएपछि करिब दुई सातासम्म पसलमा चिनी नै राखिनँ,” उनले भने, “उपभोक्ताको चर्को माग थेग्न नसकेपछि साल्ट ट्रेडिङबाट एक बोरा ल्याएको छु ।” साल्ट ट्रेडिङबाट उनले किलोको १०५ रुपैयाँमा खरिद गरेका थिए । त्यसमा ढुवानी खर्च जोडेर बिक्री गरिरहेको उनले बताए । बजारमा चिनीको मूल्य प्रतिकिलो १४० रुपैयाँसम्म छ ।
खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त प्रधानले हरेक वर्ष चाडपर्वको समयमा चिनी आपूर्ति सहज हुने गरेकामा यसपटक भने अभाव देखिएको बताए । “अहिले भारतबाट चिनी निर्यात बन्द छ,” उनले भने, ‘स्वदेशी चिनी उद्योगका गोदाममा पर्याप्त मौज्दात छैन भन्ने कुरा आएकाले मागअनुसार आपूर्ति हुन सकेको छैन ।”
चिनीको आपूर्ति असहज हुन थालेपछि मूल्यमा पनि ठुलो अन्तर देखिएको छ । साउनको पहिलो साता प्रतिकिलो ९५ रुपैयाँ रहेको खुद्रा मूल्य त्यसपछि बढेर एक सय एक रुपैयाँ पुगेको थियो । लगत्तै १०५ र ११० रुपैयाँ पुगेको एक खुद्रा विक्रेताले बताए ।
खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले पनि बजारमा चिनीको अभाव भएको र उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिएको बताए । “चाडपर्वका वेला विगतमा जस्तै अहिले पनि थोक बजारमा चिनी छैन,” उनले भने । उनका अनुसार भारतले चैतदेखि नै चिनी निर्यातमा आंशिक रोकावट गर्ने नीति लिएकामा १६ जेठदेखि भने पूर्ण प्रतिबन्ध कायम गरेको छ, जसका कारण चिनी आउन सकेको छैन ।
तर, साल्ट ट्रेडिङ र खाद्य कम्पनीले मन्त्रिपरिषद्को स्वीकृतिमा २५ हजार टन चिनी एक प्रतिशत भन्सार सहुलियतमा आयात गर्न अनुमति पाएका छन् । कूटनीतिक पहलमार्फत भारतीय व्यवसायीबाट चिनी खरिदको प्रक्रिया पनि अघि बढाइएको छ ।