अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा नियम थप कडा बनाउँदै अधिकांश विदेशी विद्यार्थीले अध्ययनका क्रममा आफ्नो श्रीमान्–श्रीमती वा सन्तानलाई साथमा ल्याउन नपाउने व्यवस्था गर्ने भएको छ ।
गृहमन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा सार्वजनिक गरेको आप्रवासनसम्बन्धी सुधार योजनाअन्तर्गत विद्यार्थी भिसामा परिवारका सदस्यलाई जोड्ने सुविधा व्यापक रूपमा हटाउने घोषणा गरेका हुन् ।
हाल अन्तर्राष्ट्रिय विद्यार्थीले निश्चित सर्तमा आफ्नो पार्टनर तथा आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान सक्ने व्यवस्था छ। नयाँ नियम लागू भएपछि अधिकांश विद्यार्थीका लागि यस्तो सुविधा रहने छैन ।
तर, नयाँ व्यवस्थामा केही अपवाद राखिएको छ। प्रशान्त क्षेत्र तथा आसियान मुलुकका विद्यार्थी तथा पीएचडीजस्ता निश्चित उच्च तहका अध्ययनमा रहेका विद्यार्थीले भने परिवार ल्याउन पाउने व्यवस्था रहने बताइएको छ ।
यसअघि नै परिवारसहित अस्ट्रेलियामा रहेका विद्यार्थीका हकमा भने नयाँ नियमले परिवार छुट्याउने छैन। परिवर्तन मुख्यतः भविष्यमा जारी हुने नयाँ भिसामा लागू हुने बताइएको छ ।
सरकारले विद्यार्थीको संख्या नै घटाउनेभन्दा अस्थायी आप्रवासन व्यवस्थापनलाई कडाइ गर्ने उद्देश्यले नियम परिवर्तन गर्न लागेको जनाएको छ। साथै एउटा अस्थायी भिसा सकिएपछि अर्को भिसामार्फत लामो समयसम्म बसिरहने ‘भिसा हपिङ’ प्रवृत्तिलाई समेत नियन्त्रण गर्ने योजना अघि सारिएको छ।
अस्ट्रेलिया सरकारले सन् २०२८ सम्म शुद्ध वैदेशिक आप्रवासनलाई २ लाख २५ हजारमा झार्ने लक्ष्य राखेको छ। पछिल्लो वर्षको तुलनामा आप्रवासन घटिरहेको भए पनि आवास तथा पूर्वाधारमा परेको दबाबलाई ध्यानमा राख्दै सरकारले अस्थायी भिसासम्बन्धी नियम थप कडा बनाएको हो।
अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलियाको आप्रवासनमा ठूलो हिस्सा हुन्। गत आर्थिक वर्षमा ३ लाख ३७ हजार ४२७ विद्यार्थी भिसा जारी भएकामा ४५ हजार ९९१ भिसा विद्यार्थीका आश्रित वा परिवारका सदस्यलाई जारी भएको तथ्यांक सार्वजनिक गरिएको छ।
सरकारले विद्यार्थी भिसासँगै अन्य अस्थायी भिसा, ओभरस्टे गर्ने प्रवृत्ति तथा कामका लागि आउने ब्याकप्याकरसम्बन्धी नियममा समेत कडाइ गर्ने घोषणा गरेको छ।