रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तर पहिचान हुन नसकेका १ हजार १४८ शव जमिनमुनि गाडेर व्यवस्थापन गरिएको छ ।
भदौ १० गते तिब्बततर्फको ल्हेन्दे खोलाको बहाव अचानक बढेसँगै रसुवाको भोटेकोशी र त्रिशूली नदीमा अप्रत्याशित बाढी आएको थियो। बाढीमा परी अहिलेसम्म १ हजार ४१० जनाको मृत्यु पुष्टि भएको छ। सुरक्षाकर्मीले भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारबाट मृतकका शव सङ्कलन गरेका थिए।
प्रहरी प्रधान कार्यालयका अनुसार मृतकमध्ये हालसम्म १०३ जनाको मात्र पहिचान खुलेको छ। बाढीका कारण ६ हजार १४५ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
सम्पर्कविहीन तथा पहिचान हुन नसकेका मृतकका परिवारले कतिपय अवस्थामा कुशको शव बनाएर अन्तिम संस्कारसमेत गरिसकेका छन् ।
पहिचान नखुलेका शवको सनाखतका लागि अहिले डीएनए परीक्षणलाई मुख्य आधार बनाइएको छ । यसका लागि खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशाला र सामाखुसीस्थित प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा डीएनए परीक्षण भइरहेको छ। मृतकका आफन्त करिब २ हजार जनाको रगतको नमुना सङ्कलन गरिएको छ भने पहिचान नखुलेका शवबाट हड्डी र दाँतका १ हजार ३३७ नमुना सङ्कलन गरिएको छ ।
प्रहरीको प्रयोगशालामा पठाइएका १ हजार नमुनामध्ये ४४३ नमुनाको परीक्षण सम्पन्न भएको छ। त्यस्तै, मृतकका हड्डी तथा दाँतका ५०० नमुना विधिविज्ञान प्रयोगशालामा परीक्षण भइरहेकोमा १७६ नमुनाको नतिजा प्राप्त भइसकेको जनाइएको छ।
राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएका १ हजार ५६८ नमुनामध्ये ८ सयभन्दा बढीको डीएनए प्रोफाइलको रिपोर्ट आइसकेको प्रयोगशालाका वरिष्ठ वैज्ञानिक अधिकृत मुकुल प्रधानले बताएका छन्। बुटवलस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको ल्याबबाट पनि डीएनए प्रोफाइलिङ भइरहेको छ।
बुटवल ल्याबमा पठाइएका ९८ रगतका नमुनामध्ये ३० वटाको प्रोफाइल जेनेरेट गरिएको प्रधानले जानकारी दिएका छन्। राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा मृतकका हड्डी तथा दाँतका ८३६ र आफन्तका रगतका ७३१ नमुना परीक्षणका लागि पठाइएको छ।
विधिविज्ञान प्रयोगशालाका नेपाली टोलीसँगै चीन र भारतका डीएनए विज्ञले पनि परीक्षणमा सहयोग गरिरहेका छन्। प्रहरीको विधिविज्ञान प्रयोगशालामा भारतीय तथा कोरियन डीएनए विशेषज्ञले समेत परीक्षणमा सहयोग गरिरहेका छन्। दुवै प्रयोगशालामा गरिएको परीक्षणबाट अहिलेसम्म १ हजार ४०० भन्दा बढीको डीएनए रिपोर्ट आएको प्रहरीले जनाएको छ।
असोज अन्तिम साताबाट शव हस्तान्तरण गर्ने तयारी
प्रहरी प्रधान कार्यालयले डीएनए परीक्षणबाट पहिचान खुलेका शव असोजभित्रै परिवारलाई बुझाउने तयारी गरेको छ। प्रहरीका एक उच्च अधिकृतका अनुसार असोजको अन्तिम साताबाट शव हस्तान्तरण सुरु गर्ने तयारी भइरहेको छ।
पहिलो चरणमा धादिङ र चितवनमा फेला परेका शव परिवारलाई बुझाउने गरी काम भइरहेको जनाइएको छ।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले सकेसम्म चाँडो शव परिवारलाई बुझाउने गरी काम भइरहेको बताए।
उनले भने, “डीएनए प्रोफाइलिङको काम धमाधम भइरहेको छ। प्रोफाइलिङ सकिएपछि म्याचिङ गरेर शव बुझाउँछौँ।”
डीएनए प्रोफाइलिङ पूरा भएपछि सफ्टवेयरमार्फत म्याचिङ गरेर मृतकको पहिचान गरिने प्रहरीले जनाएको छ।
औँठाछापबाट पनि पहिचान गरिँदै
प्रहरीले डीएनएसँगै औँठाछाप भिडाएर पनि मृतकको पहिचान गर्ने तयारी गरेको छ। शवबाट सङ्कलन गरिएको औँठाछापको विवरण भिडाउन प्रहरीको विधिविज्ञान प्रयोगशालाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र अध्यागमन विभागलाई पत्राचार गरेको छ।
शवबाट सङ्कलन गरिएको औँठाछाप राष्ट्रिय परिचयपत्र बनाउँदा वा विदेश जाँदा सङ्कलन गरिएको बायोमेट्रिक विवरणसँग मिलेको अवस्थामा मृतकको सनाखत गर्न सकिने प्रहरीको भनाइ छ।
प्रहरीले हालसम्म करिब ३०० शवको औँठाछाप सङ्कलन गरेको छ। मृतकले राष्ट्रिय परिचयपत्र बनाएको भए त्यसमा रहेको औँठाछापसँग मिलान गर्न सकिनेछ। विदेश आवतजावत गरेका व्यक्तिको हकमा अध्यागमनको रेकर्डसँग समेत औँठाछाप मिलान गरिनेछ।
प्रहरीका एक उच्च अधिकृतका अनुसार असोजको दोस्रो सातासम्म औँठाछापको रिपोर्ट प्राप्त हुन सक्ने अपेक्षा गरिएको छ। डीएनए र औँठाछाप परीक्षणको नतिजा आएपछि दुवै प्रयोगशालासँग समन्वय गरेर असोजको अन्तिम साताबाट केही शव परिवारलाई हस्तान्तरण गर्न सकिने तयारी गरिएको छ।
भिडियाे रिपाेर्ट