धनुषा जिल्लामा भदौ महिनामा विभिन्न प्रकृतिका १५९ वटा अपराधका घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको तथ्यांकअनुसार ज्यानसम्बन्धी १६, चोरीसम्बन्धी २०, आत्महत्यासम्बन्धी १६, संगठित तथा आर्थिक अपराधसम्बन्धी २१, सामाजिक अपराध ३८, महिला तथा बालबालिकासम्बन्धी २३, सवारी ज्यानसम्बन्धी ३ र अन्य प्रकृतिका २२ घटना दर्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार भदौ महिनामा कर्तव्य ज्यान, हातहतियार, मानव बेचबिखन, बैंकिङ कसुर, जुवातास, ठगी तथा मुद्रासम्बन्धी गरी २१ वटा गम्भीर प्रकृतिका घटना दर्ता भएका छन् ।
प्रहरीले चालु मुद्दाका फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत भदौमा १३५ जना प्रतिवादी पक्राउ गरेको जनाएको छ। सार्वजनिक चासोका पेन्डिङ मुद्दामध्ये ८२ वटा फछ्र्यौट गरिएको छ भने अदालतको फैसला कार्यान्वयनतर्फ ९२ वटा मुद्दा टुंग्याइएको छ। यस क्रममा ७२ वर्ष १४७ महिना ४५१ दिन कैद तथा ८८ लाख ७३ हजार २१ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने फैसला कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ ।
महिला तथा बालबालिकासम्बन्धी ९० उजुरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी घटनामा भदौ महिनामा ९० वटा उजुरी परेको प्रहरीले जनाएको छ। घरेलु हिंसाका ९० उजुरीमध्ये ८४ वटा मिलापत्रमार्फत फछ्र्यौट भएका छन् । घरेलु हिंसाका उजुरीमध्ये उपमहानगरपालिकातर्फ ३८, नगरपालिकातर्फ ३८ र गाउँपालिकातर्फ १४ वटा रहेका छन्। तीमध्ये क्रमशः ३५, ३७ र १२ वटा उजुरी मिलापत्रमार्फत टुंग्याइएको प्रहरीले जनाएको छ ।
भदौमा महिला २२, पुरुष १०, बालक ७, बालिका २३ र ज्येष्ठ नागरिक ९ गरी ७१ जना हराएको विवरण दर्ता भएको थियो। सोही अवधिमा महिला ४, पुरुष २, बालक ९, बालिका ६२ र ज्येष्ठ नागरिक २४ जना फेला परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
७६७ ठाडो उजुरी, ४७५ फछ्र्यौट
प्रहरी कार्यालयमा प्रत्यक्ष तथा जिल्ला प्रशासन कार्यालयमार्फत भदौमा ७६७ वटा ठाडो उजुरी परेको छ। प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा परेका ५२० उजुरीमध्ये ३५७ वटा फछ्र्यौट भएका छन् भने १६३ वटा बाँकी छन् ।त्यस्तै, जिल्ला प्रशासन कार्यालयमार्फत आएका २४७ उजुरीमध्ये ११८ वटा फछ्र्यौट भएका छन् भने १२९ वटा बाँकी रहेको प्रहरीले जनाएको छ।
३३२ किलोभन्दा बढी गाँजा बरामद
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले भदौ महिनामा ३३२ किलो ४७० ग्राम गाँजा बरामद गरेको जनाएको छ। त्यस्तै, २२० दशमलव ६ ग्राम ब्राउन सुगरसहित अन्य लागूऔषधसमेत बरामद गरिएको विवरणमा उल्लेख छ ।
धनुषामा ७७ सवारी दुर्घटना
सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ भदौमा धनुषामा ७७ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ११५ वटा सवारीसाधन संलग्न हुँदा १४८ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने ७६३ वटा सवारीसाधनमाथि कारबाही गरी ७ लाख ६९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही देखिएको छ। चालकको कारणबाट ६५ र अन्य कारणबाट १२ वटा दुर्घटना भएको तथ्यांकमा उल्लेख छ।
विपद्का २० घटनामा ४ जनाको मृत्यु
भदौ महिनामा धनुषामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन्। ती घटनामा चार जनाको मृत्यु र १३ जना घाइते भएका छन् भने नौ जनालाई प्रहरीले उद्धार गरेको जनाएको छ। आगलागी, बाढीपहिरो, पानीमा डुब्ने तथा अन्य विपद्का घटनामा प्रहरी टोली परिचालन गरी उद्धार तथा सुरक्षा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले १ लाख १७ हजार १६० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ १५ वटा सवारीसाधन बरामद गरी १ लाख ४ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
त्यस्तै, अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत ५२० लिटर मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।