निर्वाचन आयोगले आगामी फागुनमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी तयारी अघि बढाएको छ। २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन गराउने लक्ष्यसहित आयोगले प्रक्रिया अघि बढाएको हो ।
कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन सम्पन्न गर्नेगरी आयोग तयारीमा जुटेको जानकारी दिए।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँसभा तथा नगरसभाका सदस्यको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेकाले सोही कानुनी प्रावधानलाई आधार बनाएर निर्वाचनको तयारी अघि बढाइएको आयुक्त सुब्बाले बताए ।
आयोगले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा अन्तरजिल्ला मतदानको व्यवस्था लागू गर्ने विषयमा समेत अध्ययन गरिरहेको जनाएको छ। आयुक्त सुब्बाका अनुसार यसपटक केही जिल्ला तथा प्रदेशसभा निर्वाचन क्षेत्रबाट यस्तो व्यवस्था सुरु गर्नेबारे अध्ययन भइरहेको छ ।
अन्तरजिल्ला मतदानका लागि आवश्यक प्रविधि र बजेट व्यवस्थापन चुनौतीपूर्ण भए पनि आयोग निर्वाचन प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीमा लैजाने पक्षमा रहेको सुब्बाले बताए ।
उनका अनुसार आगामी निर्वाचनमा ई–भोटिङ प्रणाली प्रयोगको सम्भावनाबारे पनि आयोगले तयारी र अध्ययन गरिरहेको छ। विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अवसर प्रदान गर्न दूतावास तथा नियोगमार्फत अनलाइन वा विद्युतीय मतदानको व्यवस्था गर्न सकिने विषयमा आयोगले अध्ययन गरिरहेको उनले बताए ।