जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।
साविक रमदैया भवाडी गाविसका वडा नं. २, ३, ४, ६, ७ र ८ का ती परिवारको जग्गाको नाप नक्सा २०७४ सालमै सम्पन्न भएको थियो। तर, दर्ता प्रक्रिया पूरा हुन नसक्दा उनीहरूले लामो समयसम्म जग्गाधनी प्रमाणपुर्जा पाउन सकेका थिएनन् ।
क्षीरेश्वरनाथ नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख सुखदेव यादवले जग्गाधनीहरूलाई प्रमाणपुर्जा वितरण गरेका हुन् ।
नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारका अनुसार नाप नक्सा सम्पन्न भइसकेका क्षीरेश्वरनाथ नगरपालिका–२ का २४२ परिवारलाई पनि भोलि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरिएको छ ।
उनका अनुसार नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गर्न थालिएको हो ।
यसअघि भदौ २९ गते हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई समेत जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो ।