यसपटक पनि संयुक्त राष्ट्र संघको महासभाका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरूको अनौपचारिक बैठक नबस्ने भएको छ ।
सार्कको अध्यक्ष राष्ट्र नेपालले बैठकका लागि प्रस्ताव गरे पनि भारत र भुटानले सहमति नजनाएपछि बैठक अनिश्चित बनेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नयाँ महासचिवको नियुक्तिबारे छलफल गर्ने तयारी थियो । सार्कको स्थापित वर्णानुक्रमअनुसार भुटानले १६ औँ महासचिवका रूपमा दासो सोनाम तोब्गेको नाम प्रस्ताव गरिसकेको छ । वर्तमान महासचिव बंगलादेशका गुलाम सरवारको कार्यकाल अक्टोबरको अन्त्यमा सकिँदै छ, तर बैठक नहुँदा नयाँ महासचिव घोषणा प्रक्रिया अन्योलमा परेको छ ।
सन् २०१४ मा काठमाडौँमा १८औँ शिखर सम्मेलन भएयता सार्कको कुनै पनि शिखर सम्मेलन हुन सकेको छैन । २०७३ सालमा पाकिस्तानको इस्लामावादमा १९ औँ शिखर सम्मेलन हुने तय भए पनि भारत र पाकिस्तानबिचको तनावका कारण त्यो स्थगित भएको थियो । त्यसयता नेपालले अध्यक्ष राष्ट्रका नाताले पटकपटक पहल गरे पनि भारतको तदारुकता नहुँदा शिखर सम्मेलन हुन सकेको छैन ।
विगतका परराष्ट्रमन्त्री स्तरीय बैठक र तिनका मुख्य घटनाक्रम :
सन् २०२० : कोभिड–१९ विरुद्धको सहकार्यबारे छलफल गर्न भर्चुअल बैठक बसेको थियो । यसको अध्यक्षता नेपालले गरेको थियो ।
सन् २०१९ : महासभाका क्रममा भएको अनौपचारिक बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीहरूले एकअर्काको सम्बोधन बहिष्कार गरेका थिए ।
सन् २०१८ : सार्क प्रक्रियालाई पुनर्जीवित गर्ने विषयमा छलफल भयो । नेपालले भारत र पाकिस्तानसँग कूटनीतिक संवाद गर्ने निर्णय गरेको थियो ।
सन् २०१७ : पाकिस्तानमा हुने भनिएको १९औँ शिखर सम्मेलन स्थगित भएपछिको अवस्थामा यो बैठक बसेको थियो । बैठकमा पाकिस्तानले सदस्य राष्ट्रहरूको सहमति भए सम्मेलन गर्न तयार रहेको बताएको थियो ।
सन् २०१६ : १९औँ शिखर सम्मेलनको तयारीबारे छलफल भए पनि भारतले पाकिस्तानमा हुने सम्मेलनमा सहभागी नहुने घोषणा गरेपछि त्यसको असर बैठकमा देखिएको थियो । पछि बंगलादेश, भुटान र अफगानिस्तानले पनि असहमति जनाएका थिए ।
सन् २०१५ : १८औँ शिखर सम्मेलनका निर्णयहरूको कार्यान्वयन र क्षेत्रीय हितका विषयमा सामूहिक आवाज उठाउने विषयमा सहमति जुटेको थियो ।
सन् २०२१ : अफगानिस्तानको सहभागितासम्बन्धी विवादका कारण बैठक स्थगित भएको थियो, त्यसयता परराष्ट्रमन्त्री स्तरीय बैठक बस्न सकेको छैन ।