जलवायु परिवर्तनबाट उत्पन्न दुस्प्रभाव तथा हिमतालबाट हुनसक्ने जोखिम न्यूनिकरण गर्न माग गर्दै सुरू गरिएको अनसन आइतबार तेस्रो दिन पनि जारी छ । पाँचहजार मिटर उचाइमा जीवन जोखिममा राखेर आमरण अनसन बसेको तीन दिन बितिसक्दा पनि माग सम्बोधन भने अझै भएको छैन ।
चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँका १० र वडा नं. ७ का एक गरी ११ जनाले सुरू गरेको अनसन भारी हिमपातका बीच पनि निरन्तर रहेको टोलीको अगुवाइ गरिरहेका दावा नोर्बु लामाले जानकारी दिए । उनीहरू मनास्लु आधार शिविरभन्दा केही माथि समुद्री सतहबाट ५ हजार ३० मिटर उचाइमा अनसन बसिरहेका छन् ।
आफूहरू ओत लागेको पाल भारी हिमपातले पुरिने र हिउँ पन्छ्याउने काम भइरहेको लामाले बताए । तीनदिनका अवधिमा चिसोले कतिपय अनसनका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिन थालेको उनले बताए । “कतिपयलाई पेटको समस्या देखिएको छ । केही साथीहरू अत्यन्त कमजोर बनिसक्नु भएको छ”, उनले भने ।
जायज माग लिएर अनसन बसेको तीन दिन बितिसक्दा पनि सरकारी निकायबाट कुनै पहल र चासो नभएको भन्दै उनले दुस्ख व्यक्त गरे । “सीडीओसाव र एमक्यापबाट बेलाबेला फोन आइरहेको छ । उहाँहहरूले माग सम्बोधनका लागि पहल गरिरहेका छौँ भनिरहनु भएको छ”, उनले भने, “तर, माग सम्बोधन भएको छ भन्ने कुनै निश्कर्ष नआएकाले हामी अनसन बसिरहेका छौँ । आशा छ, हाम्रो माग सम्बोधन गर्ने निर्णय भएको खबर छिट्टै आओस् ।”
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भने आफूहरूले निरन्तर अनसनकारीहरूसँग सम्पर्क गरिरहेको बताएका छन् । अनसन तोडेर वार्ता र संवादबाट समस्या समाधानको पहल गर्न आफूहरू प्रतिवद्ध रहेकोबारे अनसनकारीलाई भनिरहेको उनले बताए ।
मनास्लु संरक्षण क्षेत्रका प्रमुख अनिल प्रसाईँले पनि आफूहरू निरन्तर सम्पर्क गरी अनसन तोड्न अनुरोध गरिरहेको साथै मागहरू क्रमशः पूरा गर्न पहल गरिरहेको बताएका छन् । हिमाली गाउँबस्ती भन्दा माथि धेरै नयाँ तालहरू थपिँदै गएको, हरिया तालहरू थपिदै गएको, वीरेन्द्रताललगायत हिमतालमा पानीको सतह बढिरहेकाले यसको निरन्तर नापजाँच गर्ने प्रविधि जडान गर्नुपर्ने, यसको सम्भावित जोखिमबाट बचाउन गाउँबस्तीमा साइरन जडान गर्नु पर्ने, हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तन र यसबाट बच्ने उपायहरु समेटिएको पाठ्यक्रम बनाएर पठनपाठन गर्नुपर्नेलगायतका मागहरू उनीहरूको छ ।
त्यसैगरी भविष्यमा हिमताल विस्फोट हुनसक्ने जोखिमको अध्ययन हुनुपर्ने,चीन र नेपालको सीमा क्षेत्रका तालको नियमित संयुक्त निगरानी हुनुपर्ने,विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान नभए पनि दुश्प्रभाव भोगिरहनु परेकाले जलवायु क्षतिपूर्ति र न्याय पाउनु पर्नेलगायतका माग उनीहरूको छ ।
सामागाउँका ३६ वर्षीय दावानोर्वु लामा,३९ वर्षीय निमा छिरिङ लामा, २५ वर्षीय लेक्ष्य लामा, २७ वर्षीय पासाङ नोर्बु लामा, २६ वर्षीय छिरिङ फुञ्सोक लामा, २९ वर्षीय टासी डुण्डुप लामा, २८ वर्षीय छेवाङ घ्यूर्मे लामा, २३ वर्षीय छेवाङ बाबा लामा, २८ वर्षीय कर्मा छिरिङ लामा, २९ वर्षीय पेम्बा छिरिङ लामा र वडा नं ७ का ३१ वर्षीय पेम्बा गुरुङ आमरण अनसन बसेका हुन् ।