नेपाली बजारमा बिक्री हुने खाने तेलको गुणस्तर, शुद्धता र उपभोक्ता स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले उत्पादनदेखि प्याकेजिङ र बिक्री वितरणसम्म कडाइ गर्ने तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको हो ।
प्रस्तावित मापदण्डले खाने तेललाई सिधै खान मिल्ने र नमिल्ने गरी स्पष्ट वर्गीकरण गरेको छ। सिधै खान नमिल्ने तेललाई उपभोक्ताका लागि खुद्रा प्याकेजमा बिक्री गर्न रोक लगाउने व्यवस्था गरिएको छ ।
तोरीको तेलमा कडाइ
नयाँ मापदण्डअनुसार तोरीको तेललाई उत्पादन प्रक्रियाका आधारमा ‘एक्स्प्रेस’ र ‘सल्भेन्ट एक्स्ट्र्याक्टेड’ गरी वर्गीकरण गरिएको छ ।
एक्स्प्रेस प्रक्रियाबाट निकालिएका रिफाइन्ड, भर्जिन तथा एक्स्पेलर तेल र सल्भेन्ट प्रक्रियाबाट उत्पादित रिफाइन्ड तेललाई मात्र सिधै खान योग्य मानिएको छ ।
सल्भेन्ट प्रक्रियाबाट उत्पादित ग्रेड–१ तेल भने थप प्रशोधनपछि मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तो तेलको कन्टेनरमा ‘Not for Direct Edible Consumption’ अर्थात् ‘सोझै खानका लागि होइन’ भन्ने चेतावनी स्पष्ट रूपमा लेख्नुपर्नेछ ।
तेलमा आर्जेमोन मेक्सिकाना वा अन्य अखाद्य तेल मिसाउन नपाइने व्यवस्था पनि गरिएको छ। साथै पेरोक्साइड भ्यालु तथा सिसा, आर्सेनिक, क्याडमियम र पारोजस्ता विषाक्त धातुको मात्रा निश्चित सीमाभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।
भटमास तेलमा पनि नयाँ व्यवस्था
भटमास तेलका लागि तयार गरिएको नयाँ मापदण्डमा रिफाइन्ड, डिगम्ड र ग्रेड–१ गरी वर्गीकरण गरिएको छ।
यीमध्ये रिफाइन्ड तेललाई मात्र सिधै खान योग्य मानिएको छ। डिगम्ड र ग्रेड–१ तेललाई वनस्पति घिउ वा रिफाइन्ड तेल उत्पादनका लागि कच्चापदार्थका रूपमा प्रयोग गर्नुपर्ने भएकाले खुद्रा प्याकेटमा बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ।
भटमास तेलमा अफ्लाटक्सिन, हेक्सेन र फस्फोरसको मात्राका लागि समेत निश्चित सीमा तोकिएको छ।
सूर्यमुखी तेलमा पनि मापदण्ड
सूर्यमुखी तेललाई पनि एक्स्प्रेस र सल्भेन्ट एक्स्ट्र्याक्टेड गरी वर्गीकरण गरिएको छ।
दुवै प्रक्रियाबाट उत्पादित रिफाइन्ड तेललाई सिधै खान योग्य मानिएको छ भने एक्स्प्रेसतर्फको ग्रेड–१ तेल पनि प्रयोग गर्न सकिने व्यवस्था छ। सल्भेन्ट एक्स्ट्र्याक्टेड ग्रेड–१ तेल भने सिधै खान नमिल्ने भएकाले उपभोक्ता प्याकमा बिक्री गर्न रोक लगाइएको छ।
सूर्यमुखी तेल कृत्रिम रङ तथा स्वादबाट मुक्त हुनुपर्ने तथा पेरोक्साइड भ्यालु, अफ्लाटक्सिन र विषाक्त धातुको मात्रा तोकिएको सीमाभित्र हुनुपर्ने व्यवस्था गरिएको छ।
भ्रामक दाबी र पुनःप्रयोग गरिएका कन्टेनरमा रोक
नयाँ मापदण्डमा तेलको विज्ञापन र प्याकेजिङलाई समेत कडाइ गरिएको छ। उपभोक्तालाई भ्रमित पार्ने वा अतिरञ्जित दाबी गर्ने शब्दावली प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
‘सुपर रिफाइन्ड’, ‘एक्स्ट्रा रिफाइन्ड’, ‘डबल रिफाइन्ड’, ‘अल्ट्रा रिफाइन्ड’, ‘एन्टी कोलेस्टेरोल’, ‘कोलेस्टेरोल फाइटर’ लगायतका दाबी प्रयोग गर्न रोक लगाइएको छ।
त्यसैगरी खाने तेल प्याक गर्न नेपाल गुणस्तर प्रमाणित टिन वा प्लास्टिकका कन्टेनर मात्र प्रयोग गर्नुपर्नेछ। एक पटक प्रयोग भइसकेका कन्टेनर पुनः प्रयोग गरेर खाने तेल प्याक गर्नसमेत रोक लगाइएको छ।
कन्टेनरमा उत्पादकको नाम तथा ठेगाना, ब्याच नम्बर, उत्पादन मिति र खुद तौल स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
नयाँ मापदण्ड पूर्ण रूपमा लागू भएपछि बजारमा बिक्री हुने खाने तेलको गुणस्तर परीक्षण तथा नियमन थप व्यवस्थित हुने विभागको अपेक्षा छ।