पोखराको लिचीबारी प्रकरणमा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतमा सुनुवाइ सुरु भएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असोज २२ मा तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्यसुविधा प्रदान गर्नका लागि २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको थियो ।
आयोगका अनुसार कुल ७८ लाख रुपैयाँको घुस र रिसवत लेनदेनसम्बन्धी अडियो प्रमाण, बैंक कारोबार विवरण र डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनबाट तथ्य पुष्टि भएको हो । डिजिटल फरेन्सिक ल्याबको परीक्षणमा श्रव्यदृश्य ९अडियो, भिडियो० सामग्री प्रतिवादीहरूसँग मेल खाने र छेडछाड नभएको निष्कर्ष निकालेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते मन्त्री गुप्तासहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यही मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठसमेत मुछिएकी थिइन् ।
दुई जनाबीचको अडियो बाहिरिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । मन्त्री गुप्तासँगको उक्त अडियो संवादमा बिचौलियाले पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ ९लाख० राख्नुस्, काम बनेपछि माझी कुनामा माछा खाउँला” भनेको सुनिएको थियो ।
दुई पूर्वमन्त्रीसहित मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, घरजग्गा व्यवसायी र बिचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङ, खेम पुन भन्ने खमबहादुर पुन, यमकुमारी गुरुङ र तुलसीराम बुढामगरविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
यस प्रकरणमा अख्तियारले ७८ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो । पोखरा महानगरपालिका–१६ मा रहेको दीपविर्ता ९लिची बगैँचा० मा रहेको भनिएको नक्सा नम्बर २५, २६ र २८ को जग्गाको सम्बन्धमा भ्रष्टाचार प्रकरणमा जोडिएका हुन् ।