रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भदौ १० गतेको विनाशकारी बाढीका कारण हालसम्म ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । ४३९ जना अझै सम्पर्कविहीन रहेका छन्।
भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले आयोजनास्थलमा व्यापक क्षति पुर्याएपछि जारी खोज तथा उद्धारका क्रममा यति ठूलो संख्यामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको हो।
आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले सोमबार जारी गरेको विज्ञप्तिमा बाढी आएको समयमा कार्यस्थलमा परामर्शदाता, मुख्य निर्माण व्यवसायी र सब–कन्ट्रयाक्टर अन्तर्गतका नेपाली, कोरियाली, चिनियाँ र भारतीयसहित करिब १ हजार ४३३ जना जनशक्ति कार्यरत रहेको उल्लेख छ ।
तीमध्ये हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको छ भने ७८ जना सम्पर्कमा आइसकेका छन्। बाँकी सम्पर्कविहीन रहेका ४३९ जनाको खोजी कार्य निरन्तर जारी छ।
आयोजनाको बाँधस्थलदेखि मुख्य सुरुङतर्फ बाढीले ठूला सवारीसाधन तथा ट्रकहरूसमेत पल्टाएको अवस्थामा फेला परेका छन्। सुरुङ, भूमिगत विद्युत्गृह तथा अन्य संरचनाभित्र मानिसहरू पुरिएको हुनसक्ने सम्भावनालाई ध्यानमा राखी भग्नावशेष र लेदो हटाउने काम तीव्र पारिएको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली विज्ञ तथा आयोजनाको टोली संयुक्त रूपमा परिचालन भएका छन्।
खोजी कार्यका लागि तालिमप्राप्त कुकुर तथा पर्वतारोही उद्धार टोली समेत खटाइएको छ। आयोजनास्थलसम्म पुग्ने सडक सञ्जाल बाढीले पूर्ण रूपमा बगाएपछि हेलिकप्टरमार्फत दुईवटा मिनी एस्काभेटर, जेनेरेटर तथा ग्यास(कटिङ उपकरण ढुवानी गरी भग्नावशेष पन्छाउने र रड काट्ने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै, मैलुङस्थित क्याम्प क्षेत्रमा थुप्रिएको लेदो हटाउने तथा जमेको पानी निकास गर्ने प्रयास जारी छ। बाढीबाट निकालिएका शवहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुरस्थित सेनाको क्याम्पमा पुर्याएर आफन्तजनलाई पहिचान तथा सनाखतका लागि सहजीकरण गरिँदैछ। कम्पनीले मृतकका परिवारलाई तत्काल काजक्रिया खर्च उपलब्ध गराउनुका साथै सम्पर्कविहीनका परिवारलाई मनोसामाजिक परामर्श र अद्यावधिक सूचना दिने व्यवस्था मिलाएको छ।
भौगोलिक विकटता, आवास तथा सञ्चारको अभाव, भूमिगत संरचनाभित्रको जोखिम र थप पहिरोको त्रासका बाबजुद उद्धार टोलीले आफ्ना प्रयास जारी राखेको छ। कम्पनीले नेपाल सरकारको गृह मन्त्रालय, ऊर्जा मन्त्रालय तथा ुवार रुमुसँग निरन्तर समन्वय गर्दै उपलब्ध सम्पूर्ण स्रोत, साधन र प्रविधि परिचालन गरी बेपत्ताहरूको खोजीलाई प्राथमिकतामा राखिएको जनाएको छ।