सरकारले बिजुलीमा लगाएको ५ प्रतिशत भ्याट हटाउने भएको छ । उक्त भ्याट हटाउनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेबीच सहमति भएको हो ।
आइतबार ऊर्जामन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. वाग्लेबीच भएको भेटमा ५ प्रतिशतको भ्याट हटाउने सहमति भएको स्रोतले बतायो ।
स्रोतका अनुसार ५ प्रतिशत भ्याट हटाउन ऊर्जामन्त्री श्रेष्ठले गरेको प्रस्तावमा अर्थमन्त्री राजी भएका हुन् । अब भ्याट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी रहेको स्रोतको दाबी छ ।
अर्थमन्त्री डा. वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत् ५ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए । जस अनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लागेको थियो ।
यसअघि पनि ऊर्जामन्त्रीले भ्याट हटाउने विषयमा अर्थमन्त्रीसँग छलफल गरेका थिए । तर, भ्याट हटाउने र नहटाउने विषयमा कुनै निष्कर्ष आएको थिएन ।
‘ऊर्जा मन्त्रालयबाट यसअघि पनि छलफल भएको थियो तर, कुनै निष्कर्ष आएको थिएन । हिजो अर्थमन्त्रीज्यूले हटाउने कुरामा सहमति जनाएपछि अब आगामी मन्त्रिपरिषद्मा प्रस्ताव लगिनेछ । त्यसपछि भ्याट हट्छ ।’