रसुवामा आएको बाढीबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक आकलन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाढीबाट करिब ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका हुन् ।
उनका अनुसार बाढीपछि प्राधिकरणले १४ सदस्यीय प्राविधिक टोली परिचालन गरी ड्रोनलगायत प्रविधिको प्रयोगबाट क्षतिको विवरण संकलन गरेको थियो। टोलीले १५ दिनभित्र द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदन तयार गरेको हो।
प्रतिवेदनमा कृषि, वन, मत्स्य, पशुपन्छी, सडक, पुल, विद्यालय र खानेपानीलगायत क्षेत्रमा भएको क्षतिको विवरण समेटिएको छ। साथै, प्रत्येक क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक रकमको समेत आकलन गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार तयार पारिएको आरडीएनए प्रतिवेदन विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सहयोग जुटाउन आधारका रूपमा प्रयोग हुनेछ।
बाढी आएको पहिलो दिनमै प्रधानमन्त्री विपद् कोषबाट प्रभावित स्थानीय तहमा १३ करोड ५० लाख रुपैयाँ पठाइएको पनि उप्रेतीले समितिलाई जानकारी दिए। उनका अनुसार दुई जिल्लामा १–१ करोड रुपैयाँ र धादिङमा ५० लाख रुपैयाँ पठाइएको थियो ।
प्राधिकरणले गरेको आकलनअनुसार बाढीबाट भएको क्षतिको तुलनामा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक रकम झण्डै दोब्बर देखिएको छ।