आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा भ्रामक प्रचारप्रसार तत्काल रोक्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।
परिषद्ले असोज ५ गते सूचना जारी गर्दै गैरकानुनी गतिविधि गर्दै आएका व्यक्ति तथा संस्थालाई १५ दिनभित्र त्यस्ता कार्य बन्द गर्न वा गराउन आग्रह गरेको हो ।
परिषद्का अनुसार दर्ता नभएका औषधि बिक्री गर्ने, जटिल रोगको उपचार हुने भन्दै प्रचार गर्ने तथा ‘चट्टै निको हुन्छ’ वा ‘निको नभए पैसा फिर्ता’ जस्ता दाबी गरेर सर्वसाधारणलाई प्रभावित पार्ने गतिविधि कानुनविपरीत छन् ।
विशेषगरी क्यान्सर, पाइल्सलगायत रोगको नाम ठूला अक्षरमा उल्लेख गरी औषधिको उपचार क्षमता अतिरञ्जित रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति परिषद्ले आपत्ति जनाएको छ ।
यस्ता गतिविधि सञ्चालन वा प्रचारप्रसार गरिरहेको भए १५ दिनभित्र बन्द गर्न परिषद्ले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
निर्धारित समयभित्र पनि गैरकानुनी तथा अवाञ्छित गतिविधि नरोकिए कानुनअनुसार कडा कारबाही गरिने चेतावनी परिषद्ले दिएको छ ।