संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्लो समय देखिएका बाढी, पहिरो लगायतका विपद्ले जलवायु परिवर्तनको असर थप गम्भीर बन्दै गएको देखाएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिमबारे दिएको चेतावनी स्मरण गरे। उनले त्यतिबेला ‘विश्वको छानो खसिरहेको’ र हिमाली क्षेत्रमा हिउँ तीव्र गतिमा पग्लिरहेको बताएका थिए ।
गुटेरेसले जलवायु परिवर्तनका असर अपेक्षा गरिएभन्दा छिटो देखिन थालेको उल्लेख गर्दै नेपालजस्ता कम उत्सर्जन गर्ने मुलुकहरू यसको ठूलो मारमा परेको बताए ।
उनले जलवायु संकटबाट प्रभावित कमजोर राष्ट्रलाई न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिए। प्रदूषणमा बढी योगदान गर्ने मुलुकहरूले त्यसको मूल्य वहन गर्नुपर्ने र प्रभावित देशलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।
महासचिव गुटेरेसले ‘हानि तथा नोक्सानी कोष’मा पर्याप्त रकम नहुँदा चिन्ता व्यक्त गर्दै विकसित राष्ट्रहरूले जलवायु अनुकूलनका लागि उपलब्ध गराउने वित्तीय सहयोग बढाउनुपर्ने बताए ।
सम्बोधनका क्रममा उनले ठूला तेल कम्पनीको नाफा र विकासशील मुलुकका लागि उपलब्ध जलवायु वित्तबीच ठूलो असमानता रहेको दाबीसमेत प्रस्तुत गरे ।
गुटेरेसले जलवायु संकटसँगै विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्व र प्रविधिको अनियन्त्रित विकासप्रति पनि चिन्ता व्यक्त गरे। उनले स्वचालित घातक हतियार तथा ‘किलर रोबोट’को प्रयोगमा प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे ।
संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय बहस बिहीबारसम्म सञ्चालन हुनेछ। महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। उनले सेप्टेम्बर २४ मा नेपालको जलवायु संकट, त्यसबाट भइरहेको क्षति तथा क्षतिपूर्तिको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने कार्यक्रम रहेको छ ।