प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले काठमाडौं उपत्यकामा सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा ५८ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार नेपाल प्रवेश गर्दा उल्लेख गरिएको उद्देश्यभन्दा फरक काममा संलग्न रहेको तथा भिसा अवधि समाप्त भइसकेका विदेशी नागरिकलाई कारबाहीको दायरामा ल्याइएको हो ।
नियन्त्रणमा लिइएकाहरूमा चीन, लाओस, भियतनाम र बंगलादेशका नागरिक रहेको प्रहरीले जनाएको छ। तीमध्ये बंगलादेशका चार र चीनका एक नागरिकको भिसा अवधि सकिएको पाइएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अध्यागमन कार्यालयमा बुझाएको छ ।
प्रहरीका अनुसार बंगलादेशका नागरिकहरू भिजिट भिसामा नेपाल आएर गार्मेन्ट क्षेत्रमा काम गरिरहेको अवस्थामा भेटिएका थिए। यस्तै, भिसा अवधि समाप्त भएका एक चिनियाँ नागरिक अनलाइन सट्टेबाजीसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, लाओस र भियतनामका केही महिला ठमेल तथा दरबारमार्ग क्षेत्रमा व्यावसायिक यौन गतिविधिमा संलग्न रहेको आरोपमा नियन्त्रणमा परेका छन्। प्रहरीका अनुसार उनीहरूले नाइट क्लब, पब तथा बारलाई सम्पर्कस्थल बनाएर ग्राहकसँग आर्थिक कारोबार गर्ने गरेको पाइएको छ ।
नियन्त्रणमा लिइएका ५८ जनामध्ये ४१ जनालाई प्रहरी वृत्त दरबारमार्ग र १७ जनालाई लैनचौरमा राखिएको छ। उनीहरूमाथि सीआईबी, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र मानव बेचबिखन अनुसन्धान ब्यूरोले संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन् ।
एआईजी चतुर्वेदीका अनुसार उपत्यकामा अवैध रूपमा बसोबास गर्दै विभिन्न गतिविधिमा संलग्न विदेशी नागरिकबारे प्राप्त सूचनाका आधारमा अपरेशन सञ्चालन गरिएको हो। उनले यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिमाथि समेत अनुसन्धान र कारबाही जारी रहने बताएका छन् ।