जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको छ। महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाको तीन दिने मौसम चेतावनी बुलेटिनअनुसार आगामी तीन दिन देशका अधिकांश क्षेत्रमा मौसम बदली भई मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
बुधबार, कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा तथा मधेश र कोशीका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। कोशी र बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। तराईका केही क्षेत्रमा हावाहुरी चल्नसक्ने पूर्वानुमान गरिएको छ ।
बिहीबार राति वर्षाको मात्रा थप बढ्नसक्ने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राति समेत देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान छ। विशेषगरी गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
महाशाखाले वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरोध हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।