काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले भारीदेखि अति भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै असोज ८ र ९ गते शैक्षिक संस्थामा आवश्यकतानुसार बिदा दिन निर्देशन दिएको छ । साथै असोज ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने परीक्षासमेत आवश्यकतानुसार स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको समेत सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।
मौसमजन्य विपद्का कारण बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुन सक्ने जोखिम रहेकाले पूर्वतयारी तथा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयका मुख्य निर्देशन
१. शैक्षिक संस्था बिदा:
सबै विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राखी स्थानीय तहसँगको समन्वयमा असोज ८ र ९ गते आवश्यकतानुसार विद्यालय बिदा दिन मन्त्रालयले आग्रह गरेको छ ।
२. परीक्षा स्थगित गर्न आग्रह:
सबै विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकतानुसार स्थगित गर्न भनिएको छ ।
३. विद्यालयलाई आश्रयस्थलका रूपमा प्रयोग गर्न सहजीकरण:
आवश्यक परेको अवस्थामा सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
४. जोखिमयुक्त स्थानमा बालबालिकालाई नपठाउन आग्रह:
अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले विपद्को सम्भावित जोखिमलाई त्रासका रूपमा नभई पूर्वतयारी र सावधानी अपनाउने अवसरका रूपमा लिन सबै शैक्षिक संस्था, स्थानीय तह, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई अनुरोध गरेको छ ।
