जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश हिमलाल बेलबासे उच्च अदालतको न्यायाधीशमा बढुवा हुँदै असोज ४ गते उमेर हदका कारण अवकाशमा गएका छन् ।
न्याय परिषद्को सिफारिसमा गत साता बेलबासेलाई उच्च अदालत जनकपुरको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो । तर, उच्च तथा जिल्ला अदालतका न्यायाधीशले ६३ वर्षको उमेरमा अनिवार्य अवकाश पाउने व्यवस्थाका कारण उनी पदस्थापनलगत्तै अवकाशमा गएका हुन् ।
उच्च अदालतको न्यायाधीशमा बढुवा भएपछि अवकाशमा गएका कारण उनले उच्च अदालतका पूर्वन्यायाधीशसरह निवृत्तिभरण तथा अन्य सेवा सुविधा पाउने व्यवस्था लागू हुने बताइएको छ ।
न्याय परिषद्को बुलेटिनअनुसार बेलबासे जिल्ला न्यायाधीशको वरीयतामा १३औँ स्थानमा थिए । उच्च अदालतमा रिक्त पाँच पदमध्ये केही पदमा नियुक्तिका लागि परिषद्ले बेलबासेसहित सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल र फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहको नाम सिफारिस गरेको थियो ।
रवि लामिछानेको मुद्दा संशोधनको अनुमति
बेलबासे कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चलेको सूर्यदर्शन सहकारीसम्बन्धी मुद्दासँग जोडिएका विषयमा आदेश दिएका न्यायाधीश हुन् ।
उनको एकल इजलासले गत जेठ ८ गते लामिछानेविरुद्ध दर्ता भएको अभियोगपत्र संशोधन गर्न अनुमति दिएको थियो । अभियोगमा सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप समावेश थिए ।
कास्की जिल्ला अदालतसँगै रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतबाट पनि लामिछानेविरुद्धका अभियोग संशोधन गर्न अनुमति दिइएको थियो ।
जेनजी आन्दोलनपछि गठन भएको तत्कालीन सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध विभिन्न अदालतमा दर्ता भएका मुद्दाको अभियोग संशोधन गर्ने निर्णय गरेकी थिइन् । सोही निर्णयअनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत अभियोग संशोधनका लागि प्रक्रिया अघि बढाइएको थियो ।
अभियोग संशोधनपछि लामिछानेविरुद्ध कास्कीमा सहकारी ठगीसम्बन्धी अभियोग मात्रै कायम रहेको उल्लेख गरिएको छ ।