लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
प्रशासनका अनुसार निरन्तर वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा बाढीको जोखिम रहेकाले रातिको समयमा हुने सम्भावित दुर्घटना तथा अवरोधलाई ध्यानमा राखेर आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जारी गरेको सूचनामार्फत अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। यात्रा गर्नैपर्ने अवस्था भए मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
वर्षायाममा नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो र बाढीका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ। पछिल्लो समय लगातार वर्षा भइरहेकाले सडकका विभिन्न भागमा पहिरो खस्ने तथा यातायात प्रभावित हुने सम्भावना बढेको प्रशासनले जनाएको छ।