सिन्धुलीको मरिण गाउँपालिका–४ साहानमा निर्माणाधीन मासु प्रशोधन उद्योगमा कार्यरत ८८ जना विदेशी नागरिकको भिसा रद्द गरिएको छ ।
छेन्दु ट्यान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माण भइरहेको जियान फुड्स प्रालिको ‘नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टु चाइना प्रोजेक्ट’मा उनीहरू कार्यरत थिए ।
अध्यागमन विभागले बुधबार एकैपटक उनीहरूको भिसा रद्द गर्दै नेपालबाट निष्कासनको प्रक्रिया अघि बढाएको जनाएको छ। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार भिसाको उद्देश्यविपरीत काम गरेको पाइएपछि अध्यागमन ऐन, २०४९ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको हो ।
विभागका अनुसार भिसा रद्द गरिएकाहरू अधिकांश चिनियाँ नागरिक हुन् । उनीहरू व्यवसायिक भिसामा नेपाल आएर निर्माणाधीन मासु फ्याक्ट्रीमा काम गरिरहेको पाइएको विभागको भनाइ छ ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले उनीहरू बिजनेस भिसामा नेपाल आए पनि त्यसको उद्देश्यअनुसार व्यवसाय नगरी अन्य काममा संलग्न भएको देखिएपछि कानुनअनुसार प्रक्रिया अघि बढाइएको बताएका छन् ।
विभाग स्रोतका अनुसार केही विदेशी नागरिकले नेपालमा विभिन्न नाममा आईटी कम्पनी दर्ता गरेर बिजनेस भिसा लिएको र त्यसपछि मासु प्रशोधन उद्योगमा काम गरेको पाइएको छ । कागजी रूपमा कम्पनी सञ्चालनमा रहे पनि वास्तविक रूपमा व्यवसाय नगरी श्रमिकका रूपमा काम गरेको विभागको प्रारम्भिक निष्कर्ष रहेको बताइएको छ ।
कम्पनीको फरक दाबी
उता जियान फुड्स प्रालिले भने आफूहरूलाई आवश्यक प्राविधिक जनशक्तिका रूपमा ती विदेशी नागरिकले काम गरिरहेको दाबी गरेको छ ।
कम्पनीले कृषि विभागलाई पठाएको पत्रमा चीनबाट ल्याइएका प्राविधिक जनशक्तिका लागि श्रम अनुमति तथा कार्य भिसाको प्रक्रिया अघि बढाउन अनुरोध गरेको थियो। कम्पनीका अनुसार निर्माणाधीन कारखानामा जटिल तथा उच्च प्रविधियुक्त उपकरण जडान र सञ्चालनका लागि अनुभवी विदेशी प्राविधिक आवश्यक छन् ।
कम्पनीले कारखानाका लागि करिब ५०० जना विदेशी विशेषज्ञ आवश्यक पर्ने उल्लेख गर्दै उनीहरूको उपस्थितिबिना उत्पादन प्रणाली सञ्चालन गर्न कठिन हुने दाबी गरेको छ ।
मरिणमा करिब ५० बिघा क्षेत्रफलमा आधुनिक भैंसी वध तथा मासु प्रशोधन कारखाना निर्माण भइरहेको छ। उद्योगलाई आगामी पुसदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीको दाबी छ ।
चीनमा मासु निर्यात गर्ने योजना
नेपालबाट राँगा–भैंसीको प्रशोधित मासु चीन निर्यात गर्ने योजनाअन्तर्गत मरिणमा उक्त उद्योग स्थापना गर्न लागिएको हो ।
उद्योग विभागबाट करिब २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको बताइएको छ। परियोजनाले वार्षिक २ लाख टन मासु तथा ५५ हजार टनसम्म सहायक उत्पादन गर्ने लक्ष्य राखेको छ ।
परियोजना सञ्चालनमा आएपछि ठूलो संख्यामा नेपालीलाई रोजगारी उपलब्ध गराउने तथा चीनमा मासु निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने दाबी गरिएको छ। यद्यपि, अहिले विदेशी कामदारको भिसा रद्द भएपछि उद्योग निर्माण तथा सञ्चालनको तयारीमा यसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट भइसकेको छैन ।